राष्ट्रपतिद्वारा सहमतिका लागि पाँच दिनको म्याद थप

  • 7 जुलाई 2010
राष्ट्रपति डाक्टर रामवरण यादव
Image caption राष्ट्रपतिले थपिएको अवधी भित्रै राजनीतिक दलहरुले सहमतिय सरकार गठन गर्न सफल हुने आशा व्यक्त गरेका छन्

राष्ट्रपति डाक्टर रामवरण यादवले सात दिन भित्र सहमतिय सरकार बनाउन विफल भएका दलहरुलाई पाँच दिनको म्याद थप गरिदिएका छन्।

संविधान सभामा रहेका २५वटै दलले सहमतिय सरकार गठनका लागि गृहकार्य गर्न बुधबार पाँच दिन म्याद थपिदिन आग्रह गरेका थिए।

राष्ट्रपतिले थपिएको अवधी भित्रै राजनीतिक दलहरुले सहमतिय सरकार गठन गर्न सफल हुने आशा व्यक्त गरेका छन्।

राष्ट्रपतिले शुरुमा दिएको एक हप्ताको समयसीमा कुनै उपलब्धी बिना बुधबार टुङ्गिएको थियो।

तर सहमतिको लागि गृहकार्य गर्न पाँच दिन थपिदिएपछि राष्ट्रपतिलाई भेट्न उनको निवास पुगेका प्रमुख दलका नेताहरु मुस्कुराउँदै बाहिर निस्किएका थिए।

ती मध्येका एक थिए एकीकृत माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाश।

‘शुभकामना’

“हामीलाई पाँच दिन भित्र सहमति बनाउन शुभकामना दिनु भएको छ।”

संगै रहेका नेकपा एमाले अध्यक्ष झलनाथ खनालले नयाँ अवसर मिलेको बताए।

“हामी यो अवसरको सदुपयोग गर्ने संकल्प गर्छौं।”

नेपाली कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले सहमति जुटाउन बिहिबारदेखि नै काम थालिने उल्लेख गरे।

“कार्यदल बनाएर अब हामी काम शुरु गर्छौं।”

त्यस अघि, राष्ट्रपतिसँग पाँच दिनको समय माग्ने तीन प्रमुख दलको निश्कर्षलाई संविधान सभामा रहेका २५ दलको वैठकले अनुमोदन गरेको थियो।

जेठ १४ गते भएको त्रीदलीय सहमति अनुसार गत हप्ता प्रधानमन्त्रीले राजिनामा दिएपछि सो सहमतिमा उल्लेख भए अनुसार राष्ट्रिय संयुक्त सरकार गठनको निम्ति बाटो खुलेको हो।

न्युन

तर आ-आफ्ना अडान त्याग्न नसकेका प्रमुख दलहरुले थप पाँच दिनमा सहमति जुटाउन सक्ने संभावना अत्यन्त न्युन देखिन्छ।

प्रमुख दलहरुबीच बिमती कायमै रहेमा परिस्थितिले नयाँ मोड लिने र बहुमतिय सरकार गठनको लागि खेलहरु शुरु हुने अनुमान गरिएको छ।

त्यस्ले आउने ११ महिना भित्र शान्ति र संविधान निर्माण गर्नु पर्ने दलहरुको प्रमुख कार्यसूचीलाई झनै जटील र चुनौतीपूर्ण बनाउन सक्छ।