माओवादी लडाकु समायोजनमा पुरानै अडान: गजुरेल

  • 9 जुलाई 2010
माओवादी लडाकु
Image caption माओवादी लडाकु समायोजन प्रस्ताव अरु दलले नमान्ने संभावना छ

एकीकृत नेकपा माओवादीले शनिबार सार्वजनिक गर्ने माओवादी लडाकु समायोजन र पुनस्थापनासम्बन्धी कार्यतालिकामा समायोजन गरिने लडाकु संख्या नतोकिने भएको छ।

अन्य प्रमुख दलहरुले संख्या तोक्नै पर्ने माग गर्दै आएका छन्।

त्यसले नयाँ सरकार निर्माणमा सबैभन्दा जटिल बिषय बन्दै आएको माओवादी लडाकुको समस्या ज्यूँका त्यूँ रहने संभावना प्रबल देखिएको छ।

विभिन्न शिविरमा बस्दै आएका माओवादी लडाकुसँग प्रत्यक्ष सोधेर उनीहरुको इच्छाका आधारमा मात्र समायोजन गरिनुपर्ने माओवादीको पुरानो अडान शनिबार प्रस्तुत हुने खाकामा दोहोरिने माओवादी नेता सीपी गजुरेलले बताए।

समूहगत प्रवेश

गजुरेलले ब्रीगेड तहमा सुरक्षा निकायमा समूहगत प्रवेश गराउनु पर्ने माओवादीको अडान पनि कायमै रहने बताए।

उनले भने, “एक, एकजना गरेर प्रवेश हुनुहुँदैन, ब्रीगेडियर लेभलमा समूहगत प्रवेश गराउनुपर्छ।”

गजुरेलका अनुसार एउटा ब्रीगेडमा २,००० देखि २,५०० सय लडाकु हुनेछन् भने अहिलेका माओवादी ब्रीगेड कमाण्डरलाई नै समायोजन भइसकेपछिको ब्रीगेडको प्रमुख बनाइनु पर्नेछ।

उनले ब्रीगेडियर जनरल, त्यसपछिका अधिकारीहरु सिपाही तहसम्मै माओवादी लडाकु नै रहनु पर्ने बनाए।

बहस

माओवादीको शनिबार प्रस्तुत हुने प्रस्तावलाई अरु दलले मान्लान त? भन्ने प्रश्नको जवाफमा गजुरेल भन्छन्, “अहिलेसम्म हामीले राख्दै आएको कुरा यही हो, उहाँहरुले मान्नुभएको छैन, छलफल चल्दै आएको छ, आउँदा दिनमा पनि बहस चल्दै जानेछ।”

दुइ प्रमुख दलहरु नेपाली कांग्रेस र नेकपा एमालेले सुरक्षा निकायमा समायोजन गरिने लडाकुको संख्या पहिले नै तोकिनुपर्ने, सेनामा लडाकुको समुहगत प्रवेश गर्न नसिकने र सुरक्षा निकायमा प्रचलित मापदण्ड पुरा गर्नेलाई मात्र समायोजन गर्नुपर्ने बताउँदै आएका छन्।