कांग्रेसका तर्फबाट पौडेल प्रधानमन्त्रीका उम्मेदवार

  • 17 जुलाई 2010
रामचन्द्र पौडेल
Image caption कांग्रेसको तर्फबाट पौडेल प्रधानमन्त्रीको सर्वसम्मत उम्मेदवार भएका छन्

संविधान सभामा दोस्रो ठूलो दल नेपाली कांग्रेसले संसदीय दलका नेता रामचन्द्र पौडेललाई प्रधानमन्त्रीको उम्मेदवारको रुपमा उभ्याएको छ।

संसदमा प्रधानमन्त्रीको चुनाव हुने दिन आउन चार दिन बाँकी रहँदा प्रधानमन्त्रीको उम्मेदवार सार्वजनिक गर्ने कांग्रेस पहिलो दल भएको छ।

सबै भन्दा ठूलो दल एकीकृत माओवादीले आजै अध्यक्ष प्रचण्डको विकल्प खुल्ला गरेको छ, तैपनि उस्ले आफ्नो तर्फबाट प्रधानमन्त्रीको उम्मेदवार को बन्ने खुलाएको छैन।

भावी प्रधानमन्त्री पदका लागि तीन-तीन जना दावेदार देखिएका नेपाली कांग्रेसले अन्तत: संसदीय दलका नेता रामचन्द्र पौडेललाई नै प्रधानमन्त्रीको सर्वसम्मत उम्मेदवार बनाउने निर्णय गरेको छ।

सर्वसम्मत

शनिबार बसेको केन्द्रिय समितिको वैठकमा प्रधानमन्त्रीका अन्य दावेदारहरु, वरिष्ठ नेता शेरबहादुर देउवा र महामन्त्री कुलबहादुर गुरुङले पौडेललाई समर्थन गरेपछि पौडेललाई बाटो खुलेको हो।

वैठकपछि संवाददाताहरुसँग कुरा गर्दै प्रधानमन्त्री पदका बलिया दावेदार मानिएका नेता देउवाले पौडेलको उम्मेदवारीले आफ्नो पार्टी एकताको निम्ति समेत बल पुर्‍याउने विश्वास व्यक्त गरे।

“शान्ति र संविधान निर्माण र पार्टीको एकतालाई सघाउ पुर्‍याउने सोचेर मैंले पौडेललाई समर्थन गरेको हुँ।”

संसदमा प्रधानमन्त्रीको चुनाव हुने घडी नजिकिदै गएपनि अन्य प्रमुख दलहरुले आफ्ना तर्फबाट उम्मेदवार तोकिसकेका छैनन्।

तेस्रो ठूलो दल नेकपा एमालेले अध्यक्ष झलनाथ खनाललाई प्रधानमन्त्रीको उम्मेदावार बनाउने सोच बनाएको बताइएपनि अर्का नेता केपी ओलीले शुक्रबार बीबीसीसित कुरा गर्दै त्यस विषयमा पार्टीले निर्णय गरिनसकेको टिप्पणी गरेका थिए।

सबैभन्दा ठूलो दल एकीकृत माओवादीले भने शनिबार एउटा वैठकपछि प्रधानमन्त्री पदका लागि प्रचण्डको विकल्प खुल्ला गर्ने निर्णय गरेको प्रवक्ता दिनानाथ शर्माले बताए।

“हामीहरु सम्पूर्ण विकल्पका लागि खुल्ला छौं।”

कांग्रेसले पौडेललाई प्रधानमन्त्रीको सर्वसम्मत उम्मेदवार बनाए लगत्तै कांग्रेस र एकृकीत माओवादीका वरिष्ठ नेताहरुका बीच छलफल भएको थियो।

निष्कर्षविहिन

नेताहरुका अनुसार सो वैठकमा माओवादी सेना समायोजनका विषयमा दुबै पक्षले अघि सारेका खाकाका विषयमा छलफल भएपनि कुनै निष्कर्ष निस्किएन।

सोही वैठकमा कांग्रेसले आफ्नो नेतृत्वमा नयाँ सरकार बनाउन माओवादीको सहयोग मागेपनि त्यसविषयमा माओवादी पक्ष मौन रहेको बुझिएको छ।

भावि सरकारको स्वरुप अस्पष्ट हुने क्रम जारी रहेका बेला शनिवारै संसदमा रहेका साना दलहरुको एउटा वैठकले शान्ति र संविधानको सुनिश्चितताका लागि राष्ट्रिय सहमतिको सरकार निर्माण हुनुपर्नेमा जोड दिएको छ।