प्रधानमन्त्रीका लागि बहुमत पुर्‍याउने कसरत शुरु

  • 21 जुलाई 2010
प्रचण्ड
Image caption प्रचण्डले तराई केन्द्रीत दल र एमालेको सहयोगको अपेक्षा राखेका छन्

प्रधानमन्त्री चयनको पहिलो चरणमा कसैले बहुमत पुर्‍याउन नसकेपछि प्रमुख राजनीतिक दलहरु एकीकृत नेकपा माओवादी र नेपाली कांग्रेसले दोश्रो चरणको निर्वाचनका लागि बुधबारको मतदानमा तटस्थ बसेका तराई केन्द्रित दलहरुको मोर्चाको समर्थन जुटाउन आफ्नो ध्यान केन्द्रित गरेका छन्।

बुधबारदेखि प्रधानमन्त्री बन्ने प्रक्रियाबाट बाहिरिएको नेकपा एमालेले आगामी रणनीति केन्द्रीय कार्यसमितिको बैठकले तय गर्ने बताएको छ।

अपेक्षा

माओवादीले बहुमत पुर्‍याउन तराइ केन्द्रित दलहरु, अन्य साना दल र एमाले भित्रको एउटा खेमाको समेत सहयोग पाउने अपेक्षा राखेको माओवादी नेता देवेन्द्र पौडेल ‘सुनिल’ले बताएका छन्।

पौडेलका अनुसार मधेशी मोर्चा, एमाले र अन्य दलसँग छलफल गरेर बहुमत पुर्‍याउने कसरतमा माओवादीले दोश्रो चरणको अन्तिम समयसम्म पनि प्रयास गरिरहनेछ।

नेपाली कांग्रेसले यस अघिको सत्तारुढ गठबन्धनको मुख्य सहयात्री एमालेकै सहयोग पाउने आशा राखेको छ।

Image caption रामचन्द्र पौडेलले सबै लोकतान्त्रीक दलहरूको सहयोग आफूलाई प्राप्त हुने आशा गरेका छन्

एमाले र कांग्रेस मिल्दा पनि बहुमत नपुग्ने भएकाले तराइ केन्द्रीत दलहरूसँगको कुराकानीलाई पनि उत्तिकै महत्व दिने कांग्रेस प्रवक्ता अर्जुन नर्सिंह केसीले बताए।

केसी भन्छन्, “कांग्रेसले एमाले र मधेशी मोर्चाको सहयोग पाउने अपेक्षा राखेको छ।”

पहिलो चरणबाट आफै बाहिरिएको एमालेले दोश्रो चरणमा कसरी उत्रीने भन्ने निर्णय गरिसकेको छैन।

टुंगो

नयाँ परिस्थितिमा कसरी जाने भन्ने केन्द्रीय कार्यसमितिले टुंगो लगाउने एमालेका पोलिटब्यूरो सदस्य रघुजी पन्तले बताए।

पन्तका अनुसार अब बस्ने बैठकमा कांग्रेसलाई सहयोग गर्ने या नगर्ने भन्नेबारे पनि छलफल हुनेछ।

पन्त भन्छन्, “अब कसरी जाने भन्ने नयाँ निर्णय कार्य समितिले नै गर्नेछ।”

पहिलो निर्वाचनमा तटस्थ बसेको संयुक्त मधेशी लोकतान्त्रीक मोर्चाले चाहिँ आगामी कदमका बारे निर्णय गरिसकेको छैन।