खनालद्वारा प्रचण्ड र पौडेललाई पुनर्विचार गर्न आग्रह

  • 22 जुलाई 2010
एमाले मुख्यालय
Image caption नेकपा एमालेले शुक्रबारको चुनावमा कसैलाई मत नदिने पार्टि अध्यक्षले बताएका छन्

पार्टिको निर्णय बमोजिम दुई तिहाई बहुमत नपुगेको भन्दै, प्रधानमन्त्री चयनको प्रक्रियाबाट पछाडि हट्नु परेका खनालले, शुक्रबार हुने दोस्रो चरणको मतदानमा संसदको तेस्रो ठूलो दल नेकपा एमालेले भाग नलिने बताएका छन्।

उनको उक्त भनाईले प्रधानमन्त्री छान्ने काम झनै अन्योलमा परेको छ।

‘विकल्प छैन’

विजयको सन्निकट पुगेर पनि निर्वाचनको प्रक्रियाबाट पछाडि हट्न वाध्य भएको भोलिपल्ट, शुक्रबार, अध्यक्ष खनालले कम्तीमा दुई तिहाई बहुमत बाहेकको कुनै पनि विकल्पको लागि एमाले तयार नभएको बताए।

त्यसको लागि उनले आफ्नो निर्वाचन रोक्ने गरी गरीएको ठानिएको एमाले केन्द्रिय कमिटिको पछिल्लो निर्णयलाई नै अगाडि सारे।

“हामी हाम्रो केन्द्रिय कमिटिको निर्णयबाट निर्देशित छौं। सरकार बनाउनका निम्ति बनाउनुको औचित्य छैन। त्यसैले राष्ट्रिय सहमतिको विकल्प नै छैन,” उनले भने।

आफु निकटका नेताहरुलाई साथमा राखेर अध्यक्ष खनालले विहिबार एमाले मुख्यालयमा पत्रकार सम्मेलन गरेका थिए।

'निरर्थक अभ्यास'

त्यहाँ उनले शुक्रबारको प्रधानमन्त्री निर्वाचनको प्रक्रियालाई निरर्थक अभ्यासको रुपमा चित्रण गरे र बाँकि रहेका दुई जना उम्मेदवारलाई समेत पुनर्विचार गर्न आग्रह गरे।

“वहाँहरु जिम्मेवार दलका नेताहरु हुनुहुन्छ। म वहाँहरुलाई चाँडो पुनर्विचार गरेर मुलुकलाई राष्ट्रिय सहमतितर्फ लाने आधार तयार पार्न आग्रह गर्दछु,” खनालले बताए।

आफ्नै पार्टि नेतृत्वको वर्तमान सरकारलाई सहयोग नगरेको आरोप खेप्ने गरेका खनाललाई यसपाली उनै सरकार समर्थक समूहले असहयोग गरेको परिणामस्वरुप कठिन शर्तका साथ निर्वाचनको मैदानमा पठाइएको जानकारहरु बताउँछन्।

उक्त कदमप्रति असन्तुष्ट अध्यक्ष खनालले आफुलाई पाखा लगाइएको अनुभव गरेको झल्को विहिबारको पत्रकार सम्मेलनमा दिएका थिए।

जसको प्रतिक्रिया स्वरुप शुक्रबारको निर्वाचन सहज रुपमा अगाडि बढ्न नसक्ने वातावरण बन्दै गएको विश्लेषकहरु ठान्छन्।

साँचो

प्रधानमन्त्रीको चुनावमा महत्वपूर्ण साँचो लिएर बसेका तराईकेन्द्रित दलहरुले पनि शुक्रबारको चुनावमा कसलाई समर्थन गर्ने भन्ने स्पष्ट निर्णय गरिसकेका छैनन्।

पुरानो मोर्चा समेत ब्यूँताएका ती दलहरुको समर्थन पाएमा माओवादीले बहुमत प्राप्त गर्न सक्ने अवस्था छ।

तर विहिबार साँझ बसेको मोर्चाको बैठकले स्वायत्त मधेश प्रदेश, माओवादी लडाकूहरुको समायोजन जस्ता कुरामा आफ्ना पुराना अडान कायम राख्दै शर्तहरुको सूचीनै तयार पार्‍यो।

ती शर्त पूरा नभए मोर्चाले शुक्रबारको चुनावमा कसैको समर्थन नगर्ने बैठकमा सहभागी मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका नेता जीतेन्द्र देवले बताए।

“हाम्रो कुरा सुनिएन भने हामी पहिलो चरणमा जस्तै तटस्थ बस्छौं,” उनले भने।

वर्तमान सरकारले राजीनामा गरेको तीन साता वितिसकेपनि नयाँ सरकारको गठन अन्योलमै परेको छ।

जसको कारण संविधान निर्माण र शान्ति प्रक्रियामात्र होइन पूर्ण बजेट तयारी गर्ने प्रक्रियासमेत अड्किएका छन्।

सम्बन्धित समाचार