प्रधानमन्त्रीको चुनाव फेरी विफल

  • 26 जुलाई 2010
संविधानसभा
Image caption सभामुख नेम्वाङ्ले दुबै उम्मेदवार निर्वाचित हुन नसकेको घोषणा गरेका थिए

एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेल दुबैले प्रधानमन्त्रीको दोश्रो चुनावमा पनि बहुमत जुटाउन नसकेपछि तेश्रो चरणको चुनाव हुने भएको छ।

नेकपा एमाले र तराई केन्द्रित दलहरु चुनावमा तटस्थ बसेपछि प्रधानमन्त्री छान्ने दोश्रो प्रयास पनि विफल भएको हो।

एमाले अध्यक्ष झलनाथ खनालले अस्ती भएको पहिलो चुनावबाटै उम्मेदवारी फिर्ता लिएकाले दोश्रो चुनावमा पनि प्रचण्ड र पौडेल भिडैका थिए।

साँझ अवेर भएको मतदानमा दुबैले मुख्य रुपमा पहिलो चुनावमा झैँ आ-आफ्नै पार्टीको मत मात्र पाए।

अर्को चुनाव

सभामुख सुवासचन्द्र नेम्वाङ्ले दुबै उम्मेदवार प्रधानमन्त्री निर्वाचित हुन विफल भएको घोषणा गरेका थिए।

दलहरुको सुझाव अनुसार तेश्रो चुनावको तिथि तोक्दै उनले भने, “दुबै प्रस्ताव पेश गर्न संसदको अर्को बैठक साउन १७ गतेको निम्ति तोकेको छु।”

चुनावी मैदान छाडेको एमाले तटस्थ बस्ने अडानमै रहेकाले कांग्रेसले चुनाव जित्ने सम्भावना थिएन।

तर तराई केन्द्रित पार्टीको सहयोगमा पौडेललाई उछिन्ने ध्याउन्नमा रहेको माओवादीले अन्तिम समयसम्म उनीहरुलाई फकाउने प्रयास गरेको थियो।

एमाले झैँ उनीहरु पनि तटस्थ बस्ने साझा निधोमै पुगेपछि भने पौडेललाई परास्त गर्ने प्रचण्डको आशामा तुसारापात भएको हो।

ढोका बन्द

संसदको नियम अनुसार कसैले बहुमत नल्याउँदासम्म दुईजना उम्मेदवारबीच चुनावी गराई रहनु पर्ने छ।

तर एमाले वा तराई केन्द्रित पार्टीहरुले आफ्नो निर्णयमा पुनर्विचार नगर्दासम्म संसदबाट प्रधानमन्त्री छानिने सम्भावनाको ढोका बन्द नै रहनेछ।

किनकि ती दुई मध्ये एकको समर्थन बिना माओवादीको पक्षमा बहुमत सम्भव हुने छैन्।

कांग्रेसले चुनाव जित्न भने दुबैको समर्थन लिनु पर्ने छ।