प्रधानमन्त्रीको चुनावबारे तराईका पार्टीभित्र मतभेद

  • 30 जुलाई 2010
संविधानसभा भवन
Image caption एमाले तटस्थ बसे पनि तराईका पार्टीहरुको साथ पाए प्रचण्ड प्रधानमन्त्री बन्न सक्छन्

साउन १७ गते हुन लागेको तेश्रो चरणको प्रधानमन्त्रीको चुनावमा तटस्थ बस्ने कि भोट हाल्ने भन्ने विषयमा निर्णायक देखिएका तराई केन्द्रित दलभित्रबाट फरक फरक मत प्रकाशमा आएका छन्।

तर उक्त सर्त सहितको आफ्नो अवधारणापत्रबारे माओवादीले लिखित जवाफ दिएपछि साझा रणनीति तय गर्ने मोर्चाको योजना छ।

माओवादीले बढी आशा गरेको मधेसी जनअधिकार फोरमका सभासद अभिषेक प्रताप साहले भने, “हाम्रो अवधारणापत्रप्रति बढी सकारात्मक भएकाले माओवादीलाई पार्टीले सघाउने पार्टीको धारणा छ।”

खण्डन

तराईलाई एउटै मधेस प्रदेश बनाउने, संविधानमा बहुलवाद लेख्ने र सेनामा समायोजन हुन चाहने माओंवादी लडाकूको संख्या तोक्नु पर्ने मोर्चका मुख्य सर्तहरु नमान्ने घोषणा माओवादीले गरिसकेको छ।

त्यही कुरा दोहर्‍याएमा उसलाई साथ नदिने फोरमका महासचिव राम सहाय प्रसाद यादवले बताए।

आफ्नै पार्टीका सभासद साहको धारणा व्यक्तिगत भएको टीप्पणी गर्दै उनले भने, “स्वायत्त मधेस प्रदेश भनेको पूर्वदेखि पश्चिमसम्म एउटै प्रदेश हो। त्यो नमानेमा समर्थन गर्दैनौँ।”

मोर्चाभित्रकै अर्को दल सदभावना पार्टीका महासचिव अनिलकुमार झाले पनि तेश्रो चुनावमा मोर्चा फेरी तटस्थ बस्ने सम्भावना प्रकट गरेका छन्।

उनले भने, “संविधान लेखन र शान्ति प्रकृयालाई टुंगोमा नपुर्‍याउने गरी कसैलाई समर्थन गर्ने सम्भावना अहिलेसम्म देखेको छैन्।”

संसदको गणित

प्रधानमन्त्रीको चुनाव जित्न माओवादीलाई ६३ मत चाहिन्छ।

उसले दुई दर्जन सभासद रहेको फोरमले साथ दिएमा अन्य साना दलको समर्थन जुटाएर चुनाव जित्ने आशा लिएको छ।

कांग्रेसले चुनाव जित्न एमाले सहित मोर्चाको पनि समर्थन लिनु पर्नेछ।

एमाले अझै तटस्थ बस्ने निर्णयमा अडिग भएकाले त्यो सम्भावना अहिलेसम्म देखिएको छैन्।