तरलताको संकट समाप्त भयो: गभर्नर

  • 31 जुलाई 2010
नेपाली मुद्रा
Image caption संकट चर्किएपछि बैंकहरुले ऋण दिन कडाई गरेका थिए भने निक्षेपको ब्याज बढाएका थिए

केही समययता बैंकहरुमा टन्न डिपोजीट बढेको हुनाले तरलताको संकट टरेको केन्द्रिय बैंकका गभर्नर डा युवराज खतिवडाले जनाए।

पैसा नभएर गएको पाँच महिनादेखि ऋण दिन आनाकानी गरिरहेका बैंकहरुले अब दुई तीन महिनाभित्रै आफ्ना थैली फुकाउने उनको भनाई छ।

औपचारिक रुपमा पाँच महिना अगाडिदेखि देखिएको भएपनि, बैंकहरुमा पैसाको संकट गएको दशैंदेखिनै परेको थियो।

समयमै राष्ट्र बैंकले नयाँ नोट भित्र्याउन नसकेपछि शुरु भएको सो समस्याले पछि चर्को तरलताको संकटको रुप लिएको थियो।

घोषणा

केन्द्रिय बैंकका गभर्नर डा युवराज खतिवडाले शनिबार राजधानीमा विकास बैंक संघले आयोजना गरेको एउटा कार्यक्रममा बोल्दै उक्त संकट अन्त भएको घोषणा गरे।

“विगत पाँच महिनायताको तरलताको संकट अब तत्कालको निम्ति सकिएको घोषणा गरे हुन्छ, किनकि बैंकहरुमा अब आठ/दश अर्ब रुपियाँको नगद बचत छ,” उनले भने

सो संकटले च्यापेपछि बैंकहरुले आफ्ना थैली कसेका थिए।

पहिले पहिले सजिलै उपलब्ध हुने ऋण दिन समेत उनीहरु हिच्किचाउन थाले।

निक्षेप बढ्यो

निक्षेप भनिने डिपोजीट बढाउन तँछाडमछाड गर्दै बैंकहरुले पाँच/छ प्रतिशतमा रहेको डिपोजीटको ब्याजदर दोब्बर पुर्‍याए।

भारतसंगको सीमाक्षेत्रमा रहेका बैंकहरुमा त त्यसैको कारण ह्वात्तै डिपोजीट तथा भारु संकलन बढ्यो।

यी सबैको परिणाम मात्र नभई, आश्चर्यजनकरुपमा बैंकिंग प्रणालीबाट बाहिरै राखिएका भनिएका ठूलो रकम, केही सातायता बैंकहरुमा भित्रिन थालेपछि तरलताको संकट समाधान भएको अधिकारीहरुले बताएका छन्।

“दुई महिनायता ४० अर्ब रुपियाँको निक्षेप बैंकहरुमा भित्रिएको छ,” गभर्नरले बताए।

अधिकारीहरुका अनुसार माघ महिना पछि बैंकहरुमा निक्षेप हरेक महिना दुई/तीन अर्ब रुपियाँले घट्दै थियो।

तर अहिले निक्षेप संकलन झण्डै १५ प्रतिशतले बढेको छ।

लगानीकर्ता खुशी

तरलताको संकट अन्त भएपछि सबैभन्दा खुशी व्यापारी तथा लगानीकर्ताहरु हुने निश्चित छ।

लगानी गर्न बैंकहरुबाट कर्जा नपाएर छटपटाएका व्यवसायीहरुले अब केही समयमात्र कुर्नुपर्ने गभर्नरले बताए।

“यही प्रकारले निक्षेप बढ्यो भने दुई तीन महिनामै निजी क्षेत्रले चाहेको जस्तो ब्याजदरमा ऋण उपलब्ध गराउन बैंकहरुले सक्नेछन्,” उनले बताए।

लामो समयसम्म महंगी दरभन्दा कम्ती ब्याजदरमा डिपोजीट राख्न वाध्य सर्वसाधारणहरुले गएको पाँच महिनादेखि राम्रो ब्याजदर पाइरहेका छन्।

तर तरलता संकट सकिएपछि फेरि पहिलेजस्तै डिपोजीटमा ब्याजदर थोरै हुने हो कि भन्ने चिन्ता उनीहरुको छ।

सम्बन्धित समाचार