प्रचण्ड र पौडेललाई प्रधानमन्त्रीको उम्मेदवारी फिर्ता लिन आग्रह

  • 5 अगस्ट 2010
संसद भवन
Image caption प्रधानमन्त्री छान्न विफल संसद भवनमा शुक्रवार चौथो चुनाव हुँदैछ

नेकपा एमाले र संयुक्त लोकतान्त्रिक मधेसी मधेसी मोर्चा सहितका साना दलले एकिकृत नेकपा माओवादी र नेपाली कांग्रेसलाई प्रधानमन्त्रीको उम्मेदवारी फिर्ता लिन संयुक्त आग्रह गरेका छन्।

एमाले पार्टी कार्यालयमा भएको माओवादी र कांग्रेस बाहेकका अधिकांश पार्टीहरुको संयुक्त बैठकले राष्ट्रिय सहमतिको सरकार बनाउने ढोका खोल्न त्यस्तो आग्रह गरेका हुन्।

बैठकको निर्णयबारे एमाले नेता प्रदीपकुमार ज्ञवालीले भने, “राष्ट्रिय सहमतिको निम्ति दुबै उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेको छ।”

कांग्रेसले त्यसप्रति सकारात्मक संकेत दिएको छ।

प्रवक्ता अर्जनु नरसिंह केसीको भनाई थियो, “शान्ति प्रकृया, नयाँ संविधान र लोकतान्त्रको पक्षमा हरेक विकल्पमा छलफल गर्न तयार छौँ।”

एमालेले तटस्थ नै बस्ने भएकाले चौथो चुनावमा पनि कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल चुनिने सम्भावना देखिंदैन्।

कसरत

माओवादीले तराई केन्द्रित पार्टीहरुलाई फकाउने कसरत छाडेको छैन्।

तर अहिलेसम्म तटस्थ बसिरहेको मोर्चाले शुक्रवार चुनावकै दिन निर्णय लिने जनाएको छ।

फोरम लोकतान्त्रिकका नेता जितेन्द्र देवले भने, “हाम्रो अवधारणापत्रप्रति माओवादीको जवाफ तुलनात्मक रुपमा सकारात्मक रहे पनि त्यो सघाउने खालकै छैन्। त्यसैले थप कुरा भएपछि निर्णय लिन्छौं।”

मोर्चालाई फुटाउन सके पनि चुनाव जित्न सक्ने सम्भावना भएकाले माओवादी त्यो प्रयासमा लागेको पनि बताइन्छ।

तर मोर्चाको निर्णय अघिल्लो चुनावमा विपरित माओवादीलाई भोट दिएमा मधेसी जनअधिकार फोरमका ११ जना सांसद मध्येका एक उक्त पार्टीका सचेतक अभिषेकप्रताप साहले मोर्चाको निर्णय पालना गर्ने बताए।

प्रधानमन्त्री माधवकुमार नेपालले राजिनामा दिएको महिना दिन वित्दा पनि प्रधानमन्त्री छान्न दलहरु बारम्वार विफल हुन थालेपछि सर्वसाधारण निराश हुँदै गएको पाइन्छ।