प्रधानमन्त्रीको चुनाव फेरी विफल

  • 6 अगस्ट 2010
संसदभित्र सांसदहरू
Image caption एमाले र मधेसी मोर्चा तटस्थ बसेपछि प्रधानमन्त्रीको चुनाव अनिर्णित भएको हो

प्रमुख राजनीतिक दलहरुबीचको सत्ता संघर्षका कारण चौथो चुनाव पनि प्रधानमन्त्री छान्न विफल भएपछि अर्को चुनाव भदौं २ गतेको निम्ति तोकिएको छ।

नेकपा एमाले तटस्थ बस्ने अडानमा कायमै रहेकाले नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले जित्ने स्थिति थिएन्।

तर तराई केन्द्रित पार्टीले पनि तटस्थ बस्ने निर्णय गरेपछि एकिकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डको सम्भावना पनि तुहिएको हो।

दुबै उम्मेदवारले बहुमत जुटाउन नसकेपछि सभामुख सुवासचन्द्र नेम्वाङले भने, “दुबै उम्मेदवारी निर्णयार्थ पेश गर्न भदौ २ गते अर्को बैठक तोकेको छु।”

सभासद बाहिरै

अघिल्ला मतदानमा जस्तो यसपटक चुनावी परिणाम अन्तिम घडीसम्म रहस्यपूर्ण रहिरहेन्।

मतदानको तोकिएको समयभित्रै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले तटस्थ बस्ने निर्णय गरे लगत्तै चुनाव विफल हुने करिव निश्चित भइसकेको थियो।

विगतमा घण्टौ ढिलो हुने मतदान यसपटक करिव निर्धारित समयमै शुरु हुँदा ढिलो पुगेका झण्डै सयजना सांसद पहिलो मतदानमा भोट हाल्न बान्चित हुन पुगेका थिए।

प्रचण्डको नाम निर्णयार्थ पेश हुँदा उनले आफ्नै पार्टीको पुरा भोट पाएनन्।

उक्त मतगणनापछि ढोका खुलेको मौका छोपी सांसदहरु भित्र छिरेका थिए।

त्यसपछि पौडेलको नाममा मतदान हुँदा पहिले ४६८ जना मात्र रहेका सांसदको संख्या ५६१ पुगेको थियो।