भारतीय विशेष दूत श्याम सरण दिल्ली फिर्ता

  • 6 अगस्ट 2010
माओवादी नेताहरु
Image caption भारतीय विशेष दूतको भ्रमणप्रति एकीकृत माओवादी सशंकित देखिएको छ

नेपालको राजनीतिक गतिरोध थप जटिलतातिर धकेलिएको देखिएका बेला अचानक नेपाल आइपुगेका भारतीय विशेष दूत श्याम सरण आफ्नो तीन दिने नेपाल बसाइ सिध्याएर शुक्रबार साँझ दिल्ली फर्किएका छन्।

नेपाल बसाईका क्रममा उनले सबै प्रमुख दलका शीर्ष नेताहरुसँग भेटघाट गरे।

त्यसबारे ठोस विवरणहरु बाहिर आएका छैनन्।

तर पछिल्लो समयमा भारतसँगको सम्बन्ध चिसिएको एकीकृत माओवादी भने सरणको भ्रमणप्रति सशंकित नै देखिन्छ।

तरङ्ग

नेपाली राजनीतिमा संवेदनशील भूमिका खेल्ने छिमेकी राष्ट्रका विशेष दूतबाट संवेदनशील समयमा भएको भ्रमणले काठमाण्डूमा तरङ्ग श्रृजना नगर्ने कुरै थिएन।

भारतीय प्रधानमन्त्री मनमोहन सिंहका दूत श्याम सरणले काठमाण्डूमा शीर्ष नेताहरुसंग भेटेर के सन्देश त्यो प्रष्ट छैन।

तर उनको भ्रमणलाई खासगरी एकीकृत नेकपा माओवादीले त्यति रुचाएको देखिएन।

भ्रमणको शुरुमै विदेशी हस्तक्षेप विरुद्ध खबरदारी गरेको माओवादी दलका एकजना उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले श्याम सरण नेपाल किन आएको आफूहरुले नबुझेको बताए।

“पछिल्लो समयमा नेपालप्रति भारतको रवैया सकारात्मक छैन भन्ने कुरा नेपाली जनताले बुझिसकेका छन्।”

प्रकाशको त्यस्तो भनाइले भारत र माओवादीबीचको सम्बन्धमा बढ्न थालेको चिसोपन नघटेको पुष्टि गर्छ।

‘सहमति’

तर नेकपा एमालेका नेता भरतमोहन अधिकारीका विचारमा श्याम सरणको भ्रमणपछि नेपालका दलहरुले राष्ट्रिय सहमतिको अपरिहार्यता महसुस गर्न सक्छन्।

“अब सहमतिको विकल्प नै छैन।”

नेपाली कांग्रेसका कार्यवहाक सभापति सुशील कोइरालाले भारतीय विशेष दूतको भ्रमणले आफूहरुलाई नेपालको राजनीतिक दूरावस्थाबारे झनै चिन्तित बनाएको प्रतिक्रिया दिए।

“चिन्तित भएर हामी स्वयं पनि लागि राख्या छौं।”

आउने वितिक्कै कामचलाउ प्रधानमन्त्री माधवकुमार नेपाललाई भेट्दै सोही साँझ तराईका दलहरुका नेताहरुसँग रात्री भोज गरेका श्याम सरणले दोस्रो दिन प्रमुख तीन दलका नेताहरुसँग छुट्टाछुट्टै भेटघाट गरेका थिए।

व्यस्तता

शुक्रबार साँझ दिल्ली फर्किनु अघि उनले राष्ट्रपति रामवरण यादवसँग भेटघाट गरे।

आउने बेला विमानस्थलमा पत्रकारहरुमाझ छोटो भनाइ राखेका भारतीय विशेष दूतले त्यसपछि पत्रकारहरुलाई कुनै प्रतिक्रिया नदिएर निरास बनाए।

नेपाल जटिल राजनीतिक संक्रमणतर्फ लागेको देखिएको बेला भएको श्याम सरणको भ्रमणलाई कतिपयले भारतको ठाडो हस्तक्षेप मानेका छन् भने अरुहरुले छिमेकी देशको स्वाभाविक चासोको रुपमा हेरेका छन्।