दैवी विपदमा परी दुई महिनामा ८७ जनाको मृत्यु

  • 7 अगस्ट 2010
पहिरो
Image caption पहिरोले साउनको तेस्रो सातासम्म झण्डै ४० जनाको ज्यान लिइसकेको छ

यसपालीको बर्खामा अहिलेसम्म देशभरका ४७ जिल्लालाई बाढी पहिरोले असर गरेको सरकारी आँकडा छ।

गृह मन्त्रालयका अनुसार असार १ देखि साउन २१ सम्ममा बाढीबाट २५ र पहिरोबाट ३८ जनाको ज्यान गइसकेको छ।

“त्यसमाथि ठाउँठाउँमा परेको चट्याङ्ग र झाडापखालाले पनि मानिसहरुको ज्यान लिएको छ। कुल ८७ जनाको निधन भएको छ,” मन्त्रालयमा विपद व्यवस्थापन हेर्ने जिम्मा पाएका सहसचिव शंकर कोइरालाले बीबीसीलाई बताए।

बाढीका कारण पूर्वमा झापा र पश्चिममा कैलाली बढि प्रभावित भएका छन्।

पहिरोले दोलखा, बाग्लुङ्ग लगायत कैयौं पहाडि जिल्लाहरुमा ठूलो नोक्सानी भएको छ।

राहत तथा उद्वार

घर परिवार गुमाएर विचल्ली परेका मानिसहरुको राहत र उद्वार कार्य सरल ढंगले अघि बढेको अधिकारीहरुले बताएका छन्।

कामचलाउ सरकारका कारण राजनीति र अर्थतन्त्र डावाँडोल भएका खबरहरु आएपनि दैवी प्रकोपमा परेकाहरुको उद्वार र राहत कार्यमा भने त्यसले कुनै असर नपरेको गृह मन्त्रालयका अधिकारीहरुले बताएका छन्।

झण्डै पचासवटा जिल्लाहरुमा दैवी प्रकोपसंग जुध्ने योजना तयार भइसकेको हुनाले यी विपद व्यवस्थापन गर्न कठिनाई नभएको अधिकारीहरुको भनाई छ।

त्यसैले सिंहदरबारमा कामचलाउ सरकार रहेको एक महिना भन्दा बढि समय भइसकेपनि, चाहे उद्वार कार्य होस् वा राहत वितरण होस्, सबै सहज रुपले भइरहेको अधिकारीहरु बताउँछन्।

“अहिले विपद व्यवस्थापनको कार्य सञ्चालनको लागि हामीलाई कुनै अप्ठेरो र वाधा छैन,” कोइरालाले भने।

तत्काल

विपद व्यवस्थापनका लागि चाहिने रकम तत्काल उपलब्ध गराइरहेको अधिकारीहरुले बताएका छन्।

“केही गरी समयमा रकम नपुगेमा जिल्लास्थित दैवी प्रकोप समितिहरुलाई जुनसुकै शीर्षकको पैसा खर्च गर्न पाउने अधिकार दिएका छौं,” कोइरालाले बताए।

सरकारी अधिकारीहरुका अनुसार देशका कुनैपनि ठाउँमा हुने त्यस्ता विपदका घटनाप्रति तत्काल प्रतिक्रिया गर्न आपतकालीन कार्यसञ्चालन केन्द्रको स्थापना गरिएको छ।

तर अझै बर्खा याम बाँकि रहेकोले जनधनको क्षति थप हुने खतरा छँदैछ।

पूर्ण सरकार नभएको यो अवस्थामा त्यो खतरासंग जुध्न चाहिने श्रोत, साधन जुटाएर अहिलेदेखिनै पूर्वतयारी गर्नु जरुरी भएको विज्ञहरुले औंल्याएका छन्।