शरणको भ्रमणले उब्जाएका प्रश्नहरु

  • 7 अगस्ट 2010
श्याम शरण
Image caption शरणले नेपालको शान्ति प्रक्रियाप्रति भारत चिन्तित रहेको जनाएका थिए

संसदले चौथो पटकको चुनावमा पनि नयाँ प्रधानमन्त्री चुन्न नसकेपछि दुबै उमेदवारहरु अर्को चुनावको तयारीमा जुटेका छन्।

भदौ २ गतेका लागि तय भएको पाँचौ पटकको चुनावका बारे एकीकृत नेकपा माओवादी र नेपाली काँग्रेसका वरिष्ठ नेताहरुले शनिबार छुट्टाछुट्टै मन्थन गरेका थिए।

तर भारतीय प्रधामन्त्री मनमोहन सिंहका विशेष दूत श्याम शरणको निकै अर्थपूर्ण मानिएको तीन दिने नेपाल बसाई र व्यापक भेटघाटको भोलिपल्ट भएका यी मन्थनहरु कुनै नयाँ निष्कर्षमा पुगेनन्।

त्यो संभावना पनि कमै थियो किनभने श्याम शरणको आकस्मिक भ्रमणले नेपालको गुजुल्टिएको राजनीतिक पहेलीको उत्तरको सट्टा प्रश्नहरु छोडेर गएको छ।

चासो

अडकल थरीथरीका भएपनि भारतीय प्रधानमन्त्रीका विशेष दूत काठमाण्डूमा भएकै दिनको चौथो चुनावमा नाटकीय नतीजाको आशा धेरैले गरेका थिएनन्।

धेरैको चासो चाहीं झण्डै दुई सातापछिको नतीजामा श्याम शरण भ्रमणको कस्तो असर देखिने हो भन्ने कुरामा छ।

सरकार निर्माणमा देखिएको अन्यौलपूर्ण ढिलाईका बीच नेपालको राजनीतिमा सबभन्दा धेरै चासो र प्रभाव राख्ने देशका कार्यकारी प्रमुखका विशेष दूत नेपाल आएका थिए।

आएलगत्तै उनले नेपालमा शान्ति, संविधान र स्थिरताका बारे आफ्नो चिन्ता जताउन चुकेनन्।

यही चिन्ता उनले सबै ठूला दलका ठूला नेताहरुसंगको भेटमा दोहो-याएको समाचार आयो जुन अस्वाभाविक थिएन।

अनौठो

तर नेपालको शान्ति प्रक्रिया र संविधान निर्माणबारे आफ्नो देशको गंभीर चिन्ता जताउँदे नेपाल आए लगत्तै उनले ती दुबै विषयमा निर्णायक महत्वपूर्ण अधिकार नभएको कामचलाउ सरकारका प्रधानमन्त्री माधव कुमार नेपालसंग भेटे।

त्यसपछि उनले संविधानले कुनै कार्यकारी भूमिका नदिएको राष्ट्रपति रामवरण यादवसंग भेटेका थिए।

Image caption कार्यकारी भूमिका नभएका राष्ट्रपति यादवलाई श्याम शरणले दुईचोटि भेटेका थिए

नेपालबाट फर्किनु अघि उनले फेरि नेपालका अधिकारविहीन राष्ट्राध्यक्षसंग भेट्न जरुरी ठाने।

यी भेटहरुका बीच भारतीय प्रधानमन्त्रीका विशेष दूतले झण्डै एक लाखको संख्यामा रहेको नेपाली सेनाका प्रधान सेनापति छत्रमानसि‌ह गुरुङ्गलाई भेटेको समाचार आयो।

त्यस्तै गएको वर्ष देखि सम्बन्ध नराम्रोसंग चिसिएको माओवादी पार्टीका तीन उपाध्यक्ष र महासचिवलाई साथै राखेर अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेको केही घण्टामै श्याम शरणले भारत परस्त नेता भनी आफ्नै दलभित्र आरोप खेपिरहेका माओवादी उपाध्यक्ष बाबुराम भट्टराईसंग एक्लै भलाकुसारी गरेको सार्वजनिक भयो।

ठूला तीन दल र तराईका चार मुख्य दलका नेताहरुसंग भेटमा व्यस्त श्याम शरणले दिल्लीसंग वर्षौंदेखि राम्रो सबन्ध र सम्पर्क भएका भनिने एउटा ज्यादै सानो दलका अध्यक्ष भूतपूर्व प्रधानमन्त्री सूर्य बहादुर थापासंग भलाकुसारी गर्ने पनि समय निकालेका थिए।

संयोगवश उनी नेपालमा रहेकै बखत दक्षिण एशियाली क्षेत्रीय शक्ति भारतसंग सामरिक सम्बन्धलाई अगाडि बढाइरहेको महाशक्ति अमेरिकाले नेपालको राजनीतिक अस्थिरताले गर्दा भारतलक्षित आतंकवादको खतरा बढेको चेतावनी दिएको सार्वजनिक भयो।

यी घटनाक्रमको पृष्ठभूमिमा विशेष दूत श्याम शरणको आकस्मिक नेपाल भ्रमणले प्रधानमन्त्री चुनावको वर्तमान संकटको जवाफ भन्दा नेपाली राजनीतिले भविष्यमा लिनसक्ने मोडका बारे प्रश्नहरु छोडेर गएको कतिपय विश्लेषकहरुको भनाई छ।