सेवा व्यापारको घाटा पोहर साल भन्दा आकाशियो

  • 12 अगस्ट 2010
गभर्नर डा युवराज खतिवडा
Image caption गभर्नरका अनुसार खासगरी पर्यटन आय र यात्रा खर्च बीचको बढेको अन्तर अस्वस्थकर छ

पर्यटन, यातायात, सरकारी लगानीको आय जस्ता आर्जन भन्दा नेपालीहरुले विदेश यात्रा, विदेशमा शिक्षा लगायतका क्षेत्रमा गरेका खर्च बढि भएपछि सेवा व्यापारको घाटा २१ अर्ब रुपियाँ नाघेको छ।

नेपालको आम्दानी भन्दा खर्च तीव्र दरमा बढिरहेको पछिल्लो उदाहरणको रुपमा सेवा व्यापार घाटामा देखिएको डरलाग्दो तस्वीर अगाडि आएको हो।

मार

पर्यटन, बैंकिंग, बीमा क्षेत्रबाट तथा सरकारले वैदेशिक मुद्राहरुमा गर्ने लगानी आदिबाट हुने आय सेवा व्यापारका मुख्य आम्दानीका स्रोत हुन्।

त्यस्तै नेपालीहरु विदेश जाँदा हुने खर्च, विदेशका वित्तिय संस्थाहरुलाई तिर्ने रकम तथा नेपाली विद्यार्थीहरुले विदेशका शैक्षिक संस्थाहरुलाई तिर्ने शुल्क सेवा व्यापारका मुख्य खर्च हुन्।

केही वर्ष अगाडिसम्म सामान्य नाफामा रहँदै आएको सेवा व्यापारमा केही समययता नेपालले मार खाइरहेको छ।

सेवा व्यापार घाटामध्येपनि पर्यटनको आम्दानी र नेपालीहरुले विदेश यात्रामा गरेका खर्चको अन्तर सबैभन्दा चिन्ताको विषय भएको केन्द्रिय बैंकका अधिकारीहरुको भनाई छ।

नेपाल राष्ट्र बैंकका गभर्नर डा युवराज खतिवडाका अनुसार नेपाल आउने पर्यटकहरुले गर्ने खर्च र नेपालीहरु विभिन्न कारणले विदेश जाँदा भएको खर्चबीच १० अर्ब रुपियाँ जतिको फरक छ।

“पर्यटकहरुको संख्यामा वृद्धि भएपनि पर्यटनबाट भएको आम्दानी घटेको छ। अर्कोतर्फ ठूलो संख्यामा नेपालीहरु रोजगारीकै लागि पनि विदेश गइरहेका छन्। जसले गर्दा यात्रामा खूद घाटा भएको छ। यो एकदमै अस्वस्थ प्रवृत्ति हो,” उनले भने।

कारक

आर्थिक स्थायित्वको लागि आवश्यक भुक्तानी सन्तुलन वा शोधनान्तर स्थिति पछिल्लो समयमा विग्रनुको पछाडि यही प्रवृत्ति कारक रहेको कतिपयको भनाई छ।

“पहिले पहिले सामान्य नाफा हुने सेवा क्षेत्रमा समेत घाटा भएपछि शोधनान्तरको स्थिति भयावह भएको हो,” राष्ट्र बैंकका पूर्व गभर्नर दिपेन्द्रबहादुर क्षेत्रीले बताए।

पोहर ८ अर्ब रुपियाँबाट यसपाली २१ अर्ब रुपियाँको घाटा हुनुमा एउटा कारण त विदेश पढ्न जाने नेपाली विद्यार्थीहरुले ठूलो मात्रामा विदेशी मुद्रा खर्चनु रहेको बताइएको छ।

पछिल्लो आँकडा अनुसार गएको वर्ष उनीहरुले ११ अर्ब रुपियाँ भन्दा बढि त्यसरी खर्च गरे।

सेवा व्यापारमा भएको यस्तो घाटाले अर्थतन्त्रलाई के फरक पार्छ त?

एकजना अर्थविद टुलराज बस्याल भन्छन्, “हामी आयातमा अत्यधिक निर्भर छौं। हाम्रा आन्तरीक उत्पादन कम छन्। हामीले गर्ने खर्च घटेको छैन। तर आम्दानी कम भयो। जसको सोझो असरले अर्थतन्त्रमा असन्तुलन ल्याउँछ।”

सेवा व्यापारको घाटा चाँडै नघटेमा विस्तारै सुध्रिन थालेको भुक्तानी सन्तुलनको घाटा फेरि बढ्न सक्ने विज्ञहरुको चिन्ता छ।

सम्बन्धित समाचार