चुनाव सार्ने खनालको प्रस्ताव दुई दलद्वारा अस्वीकार

  • 15 अगस्ट 2010
नेकपा एमाले अध्यक्ष झलनाथ खनाल
Image caption खनालले हालको प्रक्रिया रोकि नयाँ प्रक्रियाबाट प्रधानमन्त्री चुनिनुपर्ने बताएका छन्

सहमति पुग्न नसकेको भन्दै उम्मेदवारी फिर्ता लिएका नेकपा एमालेका अध्यक्ष झलनाथ खनालको चुनाव सार्ने पछिल्लो प्रस्तावलाई उम्मेदवारी दिएका दुवै दलले अस्वीकार गरेका हुन्।

गएको एक सातामा एमालेका अध्यक्ष खनालले दुईवटा प्रस्ताव राखिसकेका छन्।

दुवै उम्मेदवारले नाम फिर्ता लिनुपर्ने उनको पहिलो प्रस्तावप्रति माओवादी केही सकारात्मक देखिएको थियो।

तर भदौ २ गतेको पाँचौं चरणको चुनाव पछि सार्नुपर्ने उनको पछिल्लो प्रस्तावलाई भने दुवै दलका शीर्ष नेताहरुले अस्वीकार गरेका छन्।

शून्यता

नेपाली कांग्रेसका कार्यवाहक सभापति सुशील कोइरालाका अनुसार कुनै ठोस विकल्पविना मितिमात्रै सार्दा शून्यता हुन सक्छ।

“पहिले ठोस विकल्प ल्याउन सक्नु पर्छ। नत्रभने चुनावमात्र सारे शून्यता उत्पन्न हुन्छ जुन हामीलाई मान्य छैन,” उनले भने।

पहिलो चरणको चुनावमा खनाललाई समर्थन गरेको दल माओवादीका वरिष्ठ उपाध्यक्ष मोहन वैद्यले खनालको पछिल्लो प्रस्तावको औचित्यमाथि शंका गरे।

“चुनाव किन सार्नु पर्‍यो? बरु चुनावलाई परिणाम मूलक बनाउनुपर्छ वा सहमति निर्माण गर्नुपर्छ,” वैद्यले बताए।

प्रधानमन्त्री चुनावको पहिलो चरणमा तीन उम्मेदवारमध्ये सबैभन्दा अग्रणी भएपनि दुई तिहाई पुग्न नसकेको भन्दै उम्मेदवारी फिर्ता लिन वाध्य एमाले अध्यक्ष खनालले त्यसयता लगातार हालको चुनावी प्रक्रिया अन्त गरी नयाँ प्रक्रियामा जानुपर्ने बताउँदै आएका छन्।

सशंकित

केही समय अगाडि उनले दुवै उम्मेदवारले नाम फिर्ता लिएर नयाँ प्रक्रियाको लागि बाटो खाली गर्नु पर्ने बताएका थिए।

जसप्रति माओवादीले आफु तयार रहेको जनाउ दियो।

खनालको प्रस्ताव र माओवादीको प्रारम्भिक प्रतिक्रियाबाट अर्को दल नेपाली कांग्रेस भने सशंकित बनेको छ।

उक्त प्रस्ताव र प्रतिक्रिया आफ्नो दललाई बदनाम गर्ने नियतले प्रेरित रहेको आरोप नेपाली कांग्रेसका कार्यवाहक सभापति कोइरालाले लगाए।

“यो त खाली नेपाली कांग्रेसलाई अर्घेलो देखाउने कोशिशमात्र हो,” कोइरालाले भने।

शनिबार तराई केन्द्रित दलहरुको मोर्चाको बैठकले बुधबार हुने चुनावमा फेरि तटस्थै बस्ने संकेत दिएको थियो।

साथसाथै एमाले अध्यक्ष खनालको बुधबारसम्म सहमति हुन नसक्ने भनाई आएको छ।

सहमतिको रटान नछाड्ने तर त्यसको ठोस विकल्प पनि अघि नसार्ने दलहरुको यो व्यवहारले प्रधानमन्त्रीय चुनाव निरर्थक गोलचक्करमा परिणत भएको विश्लेषकहरुले बताएका छन्।

सम्बन्धित समाचार