एमालेद्वारा सहमतिको लागि ‘आधारपत्र’ तयार

  • 21 अगस्ट 2010
एमाले अध्यक्ष झलनाथ खनाल
Image caption खनालले दुवै उम्मेदवारलाई नाम फिर्ता लिन पटक पटक आव्हान गरिसकेका छन्

तटस्थ रहने एमालेको अडानप्रति उक्त पार्टिभित्रै भुसको आगोजस्तै विवाद सल्किएको ठानिएको बेला पोलीटब्यूरोको शनिबार बसेको बैठकले कुनै नयाँ निर्णय गरेन।

बरु उसले हाल मैदानमा रहेका माओवादी अध्यक्ष प्रचण्ड र नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेल दुवैले उम्मेदवारी फिर्ता लिनु पर्ने पुरानै अडान दोहोर्‍याएको छ।

भन्नलाई सहमतिको निम्ती नौलो प्रयास भनिएपनि शनिबार उसले अगाडि सारेको आधारपत्रमा पहिलेदेखिनै दोहोर्‍याइका कुराहरुनै छ।

“सेना समायोजन देखि लिएर संविधान निर्माण र विगतका सहमतिहरु कार्यान्वयन गर्ने कुराहरु यो पछिल्लो आधारपत्रले समेटेको छ,” पार्टि सचिव युवराज ज्ञवालीले बताए।

अनिवार्य शर्त

पहिलो पटकको मतदानमा सहमतिको संख्या नपुगेको भन्दै उम्मेदवारी फिर्ता लिएका अध्यक्ष झलनाथ खनाललाई पुन मैदानमा खडा हुन सहयोग पुग्ने ठानिएको कुरालाई पोलीटब्यूरोले आधारपत्रमा अनिवार्य शर्तको रुपमा राखेको छ।

“सहमतिको लागि दुवै उम्मेदवारलाई नाम फिर्ता लिन आव्हान गरेका छौं। सहमतिको लागि यो त अनिवार्य कुरा हो,” ज्ञवालीले भने।

दलहरुका अडान र शर्तहरुमा कुनै परिवर्तन नआएको बेला एमालेले अघि सारेको आधारपत्रप्रति उनीहरुले सहमति जनाउने सम्भावना भने निकै कम रहेको विश्लेषकहरुले ठानेका छन्।

सम्बन्धित समाचार