विमान दुर्घटनामा ६ जना विदेशी सहित १४को मृत्यु

  • 24 अगस्ट 2010
काठमाण्डू विमानस्थल
Image caption दुर्घटनामा परेको अग्नी एआरको विमान काठमाण्डू ओर्लने तयारीमा रहेको बताइएको छ

विहान सवेरै लुक्लामा अवतरण गर्न नसकेर काठमाण्डू फर्किदै गरेको अग्नी एअरको एउटा विमान दुर्घटनामा परेका यात्रुहरुको क्षतविक्षत शब मंगलबार साँझ काठमाण्डू ल्याइएको छ।

बेलायती, जापानी, अमेरिकी गरी ६ जना विदेशी नागरिक सहित १४ जना सवार अग्नी एअरको डोर्नियर विमान मंगलबार विहान मकवानपुरको शिखरपुर गाविस २ स्थित बस्तीपुरको एउटा खेतमा दुर्घटनाग्रस्त भएको थियो। विमान विहान सात बजेतिर काठमान्डूबाट लुक्लाका लागि उडेको थियो। तर लुक्लाको मौसम खराव भएपछि दक्षिणतिरबाट काठमाण्डू उत्रने तयारीमा रहेको सो विमान दुर्घटनामा परेपछि विमानमा रहेको सबैजना मारिएको अधिकारीहरुले बताएका छन्।

खराब मौसम

मंगलबार बिहान करिब ७ बजे ११ जना यात्रु लिएर लुक्ला उडेको बिमान लुक्लाको मौसम अचानक खराब भएपछी काठमाण्डू फर्केने क्रममा थियो।

अधिकारीहरुका अनुसार काठमाण्डू विमानस्थलमा आँखाले हेरेर अर्थात भी एफ आर प्रणालीको सहायताले अवतरण गर्ने अवस्था नरहेपछि सो विमानका चालक, उपकरणको सहायताले अर्थात आई एफ आर प्रणालीबाट अबतरण गर्न १६ माईल दक्षिण लागेका थिए।

तर त्यहाँबाट काठमाण्डू फर्कने क्रममा सो विमान मकवानपुरको वस्तीपुरमा दुर्घटनाग्रस्त भएको त्रिभुबन विमानस्थलस्थित एअर ट्राफिक कन्ट्रोलका अधिकारीहरुले बताए।

दुर्घटना हुनुअघि दुर्घटनाग्रस्त बिमानका पाईलटले विमानले बाटो विराएको जानकारी दिएको एअर ट्राफिक सपोर्ट म्यानेजर पुरुषोत्तम शाक्यले बताए।

अर्का म्यानेजर विमलेशलाल कर्णले भने, “पाइलटसँग अन्तिम सम्पर्क हुदा डाँडाकाँडा देखि रहेको छु, १० माईलमा आउदैछु भन्ने कुरा भएपछि अचानक सम्पर्क विच्छेद भयो।”

घटनास्थल

बिमान दुर्घटना भएको केहि क्षणमा नै घटना स्थल पुगेका स्थानिय बासिन्दा प्रज्वल लामाले त्यहाँ यात्रुहरुको शब टुक्रा टुक्रा भएको देखिएको वताए। मृत्यु हुने सबैको सनाखत भएको नागरिक उड्यन कार्यलयले जनाएको छ।

शवहरु साँझपख राजधानी ल्याइएको थियो।

सरकारले दुर्घटना छानविनका लागि पाँच सदस्यीय छानविन समिति गठन गरेको छ।

नारायणगढस्थित बीबीसीका एकजना संवाददाता भन्छन् नेपालमा आन्तरिक उडान भर्ने विमान वर्षेनी जस्तै दुर्घटनामा पर्ने गरेका छन्।

विज्ञहरुका अनुसार त्यस्ता विमान दुर्घटना मुख्यतया खराब मौसमकै कारण हुने गरेका छन्।