जेएमसीसीबारे माओवादी र नेपाली सेनाबीच आरोप प्रत्यारोप

  • 26 अगस्ट 2010
नेपाली सेना
Image caption कार्यक्षेत्र बाहिरको एजेण्डा राखेको भन्दै नेपाली सेना जेएमसीसीको बैठकमा गएन

माओवादी सेना तथा राष्ट्र संघीय निकाय अन्मिनले नेपाली सेनाले औचित्य सकिएको भनेको संयुक्त अनुगमन समन्वय समिति वा जेएमसीसीको सान्दर्भिकता कायम रहेको जनाएका छन्।

सेना भर्नाको विवादबारे छलफल गर्न भनेर विहिबार डाकिएको जेएमसीसीको बैठकमा नेपाली सेना अनुपस्थित भएपछि त्यसलाई स्थगित गरिएको थियो।

अन्मिनको अध्यक्षतामा नेपाली सेना र माओवादी सेनाका प्रतिनिधि रहेका जेएमसीसी खासगरी सेना तथा हतियार व्यवस्थापन सम्झौताको पालना रेखदेख गर्न गठन भएको हो।

विवाद चर्कियो

माओवादी सेना र नेपाली सेनाबीच उब्जने विवाद समाधान गर्न गठित जेएमसीसी केही समययता आफैं विवादमा परेको छ।

नेपाली सेनाले शान्ति सम्झौता बमोजिम जेएमसीसीको औचित्य सिधिएको बताएलगत्तै माओवादी सेनाले शान्ति प्रक्रियाको टुंगो नलागेसम्म त्यसको महत्व रहने बताएको छ।

“जेएमसीसीको औचित्य सकियो भन्नु अन्तरीम संविधान, शान्ति सम्झौता तथा हतियार र सेना अनुगमन सम्झौताको विरुद्ध हो। किनभने सेना समायोजन नभइकन र नयाँ संविधान नबनेसम्म द्वन्द्व सकिएको भन्न मिल्दैन,” माओवादी सेनाका प्रमुख नन्दकिशोर पुन पासाङ्गले बताए।

दुई पक्षबीचको सम्झौता कार्यान्वयनको अनुगमन गर्ने जिम्मा पाएको अन्मिनका अनुसार जेएमसीसीको औचित्य अझै कायम छ।

“वृहद शान्ति सम्झौता र सेना तथा हतियार अनुगमन सम्झौताबारे उठेका विषयहरु छलफल गर्ने आधिकारिक निकाय जेएमसीसी हो,” अन्मिनका प्रवक्ता कसमस विश्वकर्माले भने।

जेएमसीसीको औचित्य सकिएको अडानमा कायम नेपाली सेनाले भर्ना विवादको एजेण्डा उक्त समितिको कार्यक्षेत्रमा नपर्ने भएकोले विहिबारको बैठकमा नगएको जनाएको छ।

“हामीले सैन्य भर्नालाई एजेण्डा नबनाउन भनेका थियौं। तर उक्त कुरा मानिएन। त्यसैले हामी बैठकमा गएनौं,” नेपाली सेनाका प्रवक्ता सहायक रथी रमीन्द्र क्षेत्रीले बताए।

म्याद

Image caption पासाङ्गका अनुसार नयाँ संविधान नबनेसम्म द्वन्द्व सकिएको मान्न सकिंदैन

अन्मिनको म्याद सकिन तीन सातामात्र बाँकि रहेको बेला नेपाली सेनाका सेनापतिले उसको म्याद नथप्न दलहरुसंग छलफल थालेको समाचारहरु आएका छन्।

लगत्तै माओवादी सेनाले ती समाचार सत्य भए देश गंभीर दुर्घटनामा पर्ने भन्दै विहिबार एउटा प्रेस वक्तव्य जारी गरेको छ।

तर साँझ बीबीसीसंग कुरा गर्दै सेनाका प्रवक्ता रमीन्द्र क्षेत्रीले ती समाचारमा कुनै सत्यता नरहेको जनाए।

सेना समायोजनको कुरा नमिलेकै कारण राजनीतिक गाँठो नफुकेको प्रमुख दलहरुले बताइरहेका छन्।

जेएमसीसीबारेको पछिल्लो विवादका कारण समायोजनको मुद्दा झनै कचल्टिने कतिपय विश्लेषकहरुले बताएका छन्।

सम्बन्धित समाचार