प्रधानमन्त्रीको अर्को चुनाव तीन सातापछि

  • 7 सेप्टेम्बर 2010
माओवादी अध्यक्ष प्रचण्ड
Image caption तराईका दलहरुले साथ दिएको भए प्रचण्डले जित्न सक्ने स्थिति थियो

प्रधानमन्त्रीका दुई प्रतिष्पर्धी एकिकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्ड र नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले मंगलवार भएको सातौं चुनावमा पनि बहुमत पाउन सकेनन्।

एमालेले तटस्थता नतोडेकाले पौडेलले जित्ने सम्भावना नै नभए पनि तराई केन्द्रित पार्टीहरुले साथ दिएको भए प्रचण्ड जीतको नजिक थिए।

उनको पक्षमा बहुमत नपुगेपछि सभामुख सुवासचन्द्र नेम्वाङ्ले अर्को चुनाव तीन हप्तापछिको निम्ति तोके।

उनले भने, “सातौं पटक पनि बुहमत नजुटेकाले दुबै उम्मेदवारको नाम फेरी निर्णयार्थ पेश गर्न संसद बैठक असोज १० गतेको निम्ति तोकेको छु।”

निराश

छ पटकसम्मको तटस्थताप्रति असहमति जनाउँदै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबाट अलग भएको मधेसी जनअधिकार फोरमले माओवादीलाई सघाउने सम्भावनाका कारण प्रचण्ड जीतको नजिक पुगेको अनुमान गरिएको थियो।

तर विहानसम्म धेरैको ध्यान खिंच्न सफल त्यो सम्भावना मतदानको घडी जति जति नजिकिँदै थियो, उतिउति कमजोर बन्दै गयो।

मतदान शुरु हुनै लाग्दा तराई केन्द्रित अन्य तीन पार्टीले फेरी तटस्थ बस्ने निर्णय गरेर प्रचण्डलाई निराश तुल्याएका हुन्।

आफूले सघाउँदा पनि प्रचण्डले नजित्ने देखेपछि संसदभित्रै रहेका फोरमका सांसदहरुले पक्ष, विपक्ष वा तटस्थ कतै भोट हालेनन्।

आयु

प्रमुख प्रतिपक्षि माओवादी र आफ्नै दलभित्रबाट समेत राष्ट्रिय सहमतिको बाधक भएको आरोप र दबाब खेप्नु परेपछि प्रधानमन्त्री माधवकुमार नेपालले बहुमत हुँदाहुँदै गत असार १६ गते पदत्याग गरेका थिए।

दलहरुबीच सहमति हुन नसक्दा लम्बिदो चुनावी श्रृँखलाको अर्को मतदानसँगै काम चलाउ सरकारको आयु पनि थपिँदै गएको छ।