कोइराला-देउवाद्वारा कांग्रेस थप एकतावद्ध हुने दावी

  • 8 सेप्टेम्बर 2010
सुशील कोइराला
Image caption कार्यवाहक सभापति कोइराला र शेरबहादुर देउवाबीच नै टक्कर हुने अनुमान छ

नेपाली कांग्रेसको सभापतिका दुई प्रतिष्पर्धी सुशील कोइराला र शेरबहादुर देउवाले महाधिवेशनपछि पार्टी थप एकतावद्ध भई सबैको आकर्षणको केन्द्र बन्ने दावी गरेका छन्।

असोज १ गतेदेखि हुन लागेको महाधिवेशनबारे पत्रकारहरुलाई जानकारी दिन पार्टी कार्यालयमा आयोजित कार्यक्रममा ती दुबै नेतासँगै थिए।

पार्टी एकिकरण र संविधानसभाको चुनावमा भोग्नु परेको जोडदार झट्कापछि कांग्रेस पहिलो पटक महाधिवेशनमा होमिन लागेको छ।

निर्विकल्प

कांग्रेसीहरु नै पार्टी एक भए पनि मन एक नभएको हाक्काहाक्की स्वीकार्छन्।

तर एक कार्यकालको निम्ति नेतृत्व दावा गरिरहेका कार्यवाहक सभापति सुशील कोइरालाले भने, “विगतका कमि कमजोरी सच्याउँदै संस्थागत परिपाटी भएको पार्टीको रुपमा कांग्रेस अव सबै प्रजातान्त्रवादीको आकर्षणको केन्द्र बन्ने छ।”

दुबै उम्मेदवारले आफ्नो उम्मेदवारी वा हारजीतको प्रसंग उप्काएनन्।

बरु देउवाले कांग्रेस निर्विकल्प दल भएको बताए।

उनले भने, “जोरजबरजस्ती र निरंकूशता कसैलाई मन नपर्ने भएकाले कांग्रेस विकल्पहीन एकमात्र प्रजातन्त्रवादी दल हो र रहिरहने छ।”

संरक्षक दल

राजाबाट जति सुकै दुख पाए पनि सम्वैधानिक राजतन्त्रलाई आजीवन काँध थापेको कांग्रेसको महाधिवेशन गणतन्त्र स्थापनापछिको पनि पहिलो हो।

जसप्रति बेलाबखत पार्टीको केन्द्रिय तहमै असन्तुष्टी झल्किने गरेको छ।

तर संसदीय दलका नेता रामचन्द्र पौडेलले भने, “अतिवादी र दोधारे दलले नभई केवल नेपाली कांग्रेसले परिवर्तनलाई बचाउन सक्छ अनि शान्ति साकार र नयाँ संविधान निर्माण गर्न सक्छ।”

सभापतिकको प्रतिष्पर्धामा नेता भिमबहादुर तामाङ पनि देखिएका छन्।

तर कोइराला र देउवाबीच नै टक्कर हुने अनुमान गरिएको छ।

रुचाए पनि नरुचाए पनि गिरिजाप्रसाद कोइराला सामु नतमस्तक हुने कतिपय प्रभावशाली नेताहरु अहिले सुशीलसँग देखिन्नन्।

पार्टी फोड्दाका कतिपय राजनीतिक दौतरीले देउवालाई पनि छाडेका छन्।

फड्को

स्थापनाको दुई दशकसम्म मधेसी जनजाती र दलितलाई राम्रै अवसर दिएको कांग्रेसले समावेशीको मामिलामा लामो अन्तरालपछि गाउँदेखि केन्द्रसम्मै फड्को मार्दैछ।

माओवादी विद्रोहका कारण गाउँबाट सदरमुकाम र शहर-बजारमा खुम्चिएको कांग्रेसका लागि महाधिवेशन संगठन विस्तारको नयाँ अवसर बनेको छ।

प्रधानमन्त्रीको मतदान असोज १० गते तोकिएपछि त्यसअघि हुन लागेको नेपालको पुरानो प्रजातान्त्रिक पार्टी कांग्रेसको महाधिवेशन तर्फ धेरैको ध्यान केन्द्रित हुन थालेको छ।