अन्मिनबारेको विवाद सुल्झाउन दलहरुबीच छलफल तीव्र

  • 10 सेप्टेम्बर 2010
अन्मिन मुख्यालय
Image caption विवाद बढेका कारण अन्मिनको भविष्य अन्यौलमा परेको छ

अन्मिनको कार्यादेश र म्यादका विषयमा सरकार र माओवादीले संयुक्त राष्ट्रसंघलाई भिन्नाभिन्नै पत्र पठाएपछि बढेको विवादको व्यवस्थापन गर्न दुबै पक्षले ताजा छलफल थालेका छन्।

यद्यपी अन्मिनको कार्यादेश र म्यादबारेको विवाद सहजै साम्य हुने छनक शुक्रबार अवेरसम्म मिलेको थिएन।

दुबै पक्षबीच छलफल चलिरहेको भएपनि अन्मिनको कार्यादेश र म्यादको विषयमा कामचलाउ सरकार र एकीकृत माओवादी आ-आफ्ना अडानबाट पछि हटिसकेका छैनन्।

माओवादीपक्षसँग छलफल गरेका सरकारका एकजना मन्त्री मीनेन्द्र रिजालका अनुसार नेपाली सेनालाई अन्मिनको मातहतबाट हटाउने विषयमा माओवादी लचक नदेखिएकोले दुबै पक्ष सहमतिबाट अझै टाढा छन्।

विवाद

तर प्रधानमन्त्री माधवकुमार नेपालका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई भने कार्यादेश घटाएर अन्मिनको म्याद बढाउने विषयमा सहमति जुट्न सक्ने कुरामा आशावादी छन्।

“उहाँहरुले देखाउने भनेको लचकता अब साच्चिकै देखिनु पर्‍यो, त्यसपछि सहमति बन्छ।”

सरकारले अन्मिनको कार्यादेश घटाउदै सो नियोगको म्याद चार महिनाको लागि मात्र थप्न राष्ट्रसंघलाई पत्राचार गरेको थियो।

तर एकीकृत माओवादीले त्यसलाई चुनौति दिंदै अन्मिनको कार्यादेशमा कुनै परिवर्तन नगरिकनै छ महिनाको लागि म्याद थप्न राष्ट्रसंघलाई छुट्टै पत्र पठाएपछि अन्मिनबारेको विवाद चर्किएको हो।

अन्यौल

दुबै पक्षले छुट्टा छुट्टै पत्र पठाएपछि राष्ट्रसंघीय सुरक्षा परिषदमा समेत अन्यौल बढेको वुझिएको छ।

अब दुबै पक्षले कसरी सहमति जुटाउलान्?

सरकारी पक्षसँग छलफल गरेका एकजना माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले पुरानै कार्यादेशलाई कायम राख्ने कुरामा सहमति जुट्न सक्ने बताए।

अन्मिनबारेको विवाद साम्य पार्न राष्ट्र संघले सरकार र एकीकृत माओवादीलाई साझा धारणा बनाउन आग्रह गरेपछि दुबै पक्षले ताजा छलफल थालेका हुन्।

दुबै पक्षलाई अन्मिनबारेको विवादको अन्त्य गर्दै सहमति जुटाउन नेपालस्थित राष्ट्रसंघका प्रभावशाली सदस्य राष्ट्रका राजदूतहरुले समेत घच्घच्याइसकेका छन्।

छैठौं पटक थपिएको अन्मिनको म्याद आगामी सेप्टेम्बर १५ तारिकमा सकिदैछ।