राष्ट्रपति सम्वैधानिक सक्रियता देखाउ: संविधानविद्

  • 13 सेप्टेम्बर 2010
राष्ट्रपति डा.रामवरण यादव
Image caption प्रधानमन्त्री नछानिएपछि राष्ट्रपतिले परामर्श तीव्र पारेका छन्

संविधानविद्हरुले राजनीतिक संकट हटाउन संविधानभित्र रहि सक्रिय हुने सल्लाह राष्ट्रपति डा.रामवरण यादवलाई दिएका छन्।

संकटको दलदलमा फसेको राजनीतिलाई निकास दिन आफूले गर्न सक्ने पहलबारे राष्ट्रपतिले संविधानविद्हरुको सल्लाह मागेका थिए।

राष्ट्रपतिलाई सल्लाह दिन गएका मध्येका एक अधिवक्ता टिकाराम भट्टराईले भने, “संवैधानिक सीमाभित्र रहेर सक्रिता देखाउँदै संविधानको पालना र संरक्षण गर्नु पर्छ भन्ने सुझाव हाम्रो थियो।”

चेतावनी

प्रधानमन्त्री छान्न बारम्वार विफल चुनावलाई निर्णायक बनाउने पहल लिन राष्ट्रपतिले सभामुखलाई निर्देशन दिन सक्ने उनीहरुको सुझाव थियो।

भट्टराईले भने, “दलहरुलाई तटस्थ नबस्न सभामुखले रुलिङ गर्न सक्छन्। त्यसको निम्ति राष्ट्रपतिले सभामुखलाई वार्न (चेतावनी) गर्न सक्छन्।”

उनीहरुले राष्ट्रपति समक्ष वर्तमान सरकारलाई बजेट पेश गर्न कुनै कानूनी र सम्वैधानिक समस्य नरहेको सुझाव दिएका थिए।

संसद प्रधानमन्त्री छान्न विफल हुँदै गएपछि यसअघि राष्ट्रपतिले संविधानसभाका दलहरुसँग छलफल गरि सकेका छन्।

उनले गतिरोध हटाउन दलका प्रमुखहरुको ध्यानाकर्षण गराएका थिए।

प्रश्न

एकिकृत नेकपा माओवादीले संसदलाई अनिर्णयको बन्दी बनाएर राष्ट्रपति शासन लगाउने षडयन्त्र भइरहेको आरोप लगाउने गरेको छ।

भेटघाटभित्र कतै राष्ट्रपतिको सक्रिय हुने चाहना त लुकेको छैन्?

उनका स्वकीय सचिव अधिवक्ता ललित बस्नेत प्रतिप्रश्न गर्छन्, “सक्रिय हुने भए किन सल्लाह लिनु हुन्थ्यो, संविधानविद्हरुले नै राष्ट्रपतिलाई सक्रिय हुने सुझाव देलान भनेर कसरी विश्वास गर्ने?”

अधिवक्ता भट्टराईले पनि आफूहरुसंगको छलफलका क्रममा राष्ट्रपतिले संविधानको सीमा ननाघ्ने कुरा पटक पटक दोहर्‍याएको बताए।