‘कांग्रेस महाधिवेशनको तयारी पुरा’

  • 16 सेप्टेम्बर 2010
महाधिवेशन प्रतिनिधिहरु
Image caption महाधिवेशनको तयारीमा जुटेका कांग्रेसका प्रतिनिधिहरू

काठमाण्डूमा हुन लागेको आफ्नो १२ औं महाधिवशनको सबै तयारी पुरा भएको नेपाली कांग्रेसले जनाएको छ।

गणतन्त्र स्थापना र दुई कांग्रेस एकिकरणपछि हुन लागेको महाधिवेशनमा तीनहजार भन्दा बढी प्रतिनिधि सहभागि हुनेछन्।

उनीहरुले पार्टी स्थापनाकालपछिको पुस्तालाई पार्टीको नेतृत्व सुम्पिने छन्।

महाधिवेशन प्रचार प्रसार समितिका संयोजक कृष्णप्रसाद सिटौलाले भने, “सबै प्रतिनिधिहरु आइपुगिसक्नु भएको छ। दर्ता हुने क्रम शुक्रवार साँझसम्म चल्ने छ। अरु सबै तयारी पुरा भइसक्यो।”

वातावरण

सामान्यतया अरु बेला सुनसान जस्तै हुने ललितपुरको सानेपास्थित कांग्रेस केन्द्रिय कार्यालयमा महाधिवेशनको चटारोले भीड बढाएको छ।

दिउँसो त्यहाँ महाधिवेशन प्रतिनिधिहरु कार्यालयमै खोलिएको एउटा नीजि क्षेत्रको ब्याङमा शुल्क बुझाउँदै प्रतिनिधित्व दर्ता गराइरहेका थिए।

महाधिवेशन देशभरीका कांग्रेस नेता-कार्यकर्ताहरुबीच भेटघाटको अवसर पनि बनेको छ।

त्यहाँ एक अर्कालाई परिचय गराईं दिँदै भोट माग्ने काम पनि चलिरहेको थियो।

महाधिवेशनको बन्द सत्र हुने स्थलमा भृकुटीमण्डपमा चुनावी प्रचारमा रंगी विरंगी ब्यानर झुण्ड्याइएका र पोष्टरहरु टाँसिएका थिए।

उदघाट्न सभा हुने खुलामञ्चमा पानी र हिलो भएको चौर सम्याउने र पुर्ने अनि तारवार गर्ने काम भइरहेको छ।

महाधिवशेन प्रतिनिधिहरुको बसोवास कार्यक्रमस्थलको सक्दो नजिक राखिएको सिटौलाले बताए।

कडा सुरक्षा

उनीहरु काठमाण्डू आउँदा राजमार्गमा गस्ती र सुरक्षा निगरानी बढाएको प्रहरीले काठमाण्डौंमा सुरक्षा तैनाथी थप सुदृढ पारेको छ।

प्रहरी प्रवक्ता विज्ञानराज शर्माले भने, “सम्भावित सुरक्षा चुनौतिलाई ध्यानमा राखेर रणनीति बनाएका छौं।”

महाधिवेशनमा विदेशी पाहुना पनि आउने भएकाले सुरक्षा स्थितिलाई थप संवेदनशील रुपमा प्रहरीले लिएको छ।

असोज ५ गते हुने चुनावबाट नेतृत्व लिन चुनावी मैदानमा तीनवटा खेमा देखिएका छन्।

दलहरुप्रति खस्किदो जनताको विश्वास र आशाको जगेर्ना गर्नु अन्य दलहरु जस्तै कांग्रेसको भावि नेतृत्वको पनि चुनौति हुने विश्लेषकहरुको धारणा छ।