'बजेट नल्याए मंसिरदेखि तलब पनि छैन'

  • 28 सेप्टेम्बर 2010
प्रधानमन्त्री माधवकुमार नेपाल
Image caption दश दलका नेताले प्रधानमन्त्रीलाइ बजेटका लागि राजनीतिक सहमति खोज्न भनेका छन्

सत्ता साझेदार दलहरुले असोज महिनामा बजेट ल्याउन होइन राजनीतिक सहमति खोज्न प्रधानमन्त्रीलाई सल्लाह दिएका छन्।

प्रधानमन्त्री माधवकुमार नेपालले सत्ता साझेदार दश दलका शीर्ष नेताहरुलाई निम्त्याएर बजेट ल्याउन नसक्दाको पीडा पोखेका थिए।

दश दलका नेतालाई अर्थ सचिव, अर्थमन्त्रालयका बरिष्ठ सल्लाहकार र योजना आयोगका सदस्य लगायतले बजेट नहुँदा आइलाग्ने समस्याबारे सचेत बनाउन खोजेका थिए।

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार रघुजी पन्तका अनुसार, कात्तिकसम्म यताउताबाट तानतुन गरेर चलाउन सकेपनि मंसिरदेखि औषधि किन्न, जेलमा बसेकालाई सिदा दिन र खाद्यान्न ढुवानी गर्न समेत नसिकने स्थिति आएको अर्थ मन्त्रालयका अधिकारीहरुले नेताहरुलाई जानकारी दिएका थिए।

पन्तकै अनुसार दलहरुले कात्तिकको पहिलो साता बजेट ल्याउन सहमति दिएका छन्।

उनले भने, असोज महिनाभर राजनीतिक सहमति खोज्न दिउँ, नभए कात्तिक पहिलो साता बजेट ल्याउने गरी सरकारले तयारी गरोस्।"

तलब

ति अधिकारीहरुले प्रधानमन्त्री माधवकुमार नेपाल लगायत सत्ता साझेदार दश दलका नेताहरुलाई कात्तिक मसान्त भित्र पास हुने गरी बजेट ल्याउन नसके मंसिरदेखि करिब पाँच लाख सरकारी कर्मचारीले तलब समेत पाउन नसक्ने अवस्था आएको बताएका हुन्।

सामान्य अवस्थामा असार मसान्तभित्र बजेट आइसक्छ।

तर असार १५ गते प्रधानमन्त्री माधवकुमार नेपालले राजीनामा दिएपछि कामचलाउ सरकारमा परिवर्तन भएकाले सरकारले बजेट ल्याउन सकेको छैन।

कामचलाउ सरकारले बजेट ल्याउन नसक्ने कतै उल्लेख नगरेको भन्दै कतिपय कानूनवीदहरुले अहिलेको सरकारले नै बजेट ल्याउन सक्ने सल्लाह राष्ट्रपति लगायतलाई दिइसकेका छन्।