कांग्रेस नेतृत्वको निम्ति मतदान सम्पन्न

  • 21 सेप्टेम्बर 2010
नेपाली कांग्रेसका मतदाताहरु
Image caption नेपाली कांग्रेस केन्द्रीय पदाधिकारीका लागि तीन हजार भन्दा बढिले मतदान गरेका थिए

नेपाली कांग्रेसको केन्द्रिय नेतृत्वको निम्ति मतदान सकिएपछि यो समाचार तयार पारुन्जेल सभापतिको भोट गन्ने काम भइरहेको छ।

तीन हजार भन्दा बढीले भोट हालेका छन्।

मतगणना साँझ आठ बजेतिरबाट शुरु भएको बताइएको छ।

कार्यवाहक सभापति सुशील कोइराला, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र अर्का नेता भीमबहादुर तामाङ सभापतिको प्रतिष्पर्धामा उत्रिएका छन्।

मतदान

शुक्रवार खुलामञ्चमा उदघाट्न भएपछि सोमबारसम्म भृकुटीमण्डपमा भएको बन्द सत्रमा व्यस्त कांग्रेसका नेता कार्यकर्ता मंगलबार विहानैदेखि कमलादीस्थिति प्रज्ञा भवन पुगेका थिए जहाँ साँझसम्म मतदान चलेको थियो।

सभापति सहित महामन्त्री र कोषाध्यक्षका साथै केन्द्रिय सदस्यमा खुला बाहेक, अञ्चल, महिला, मुस्लीम, मधेसी, मधेसी महिला, जनजाती, जनजाती महिला, दलीत र दलीत महिलाको निम्ति आरक्षण छुट्याइएको छ।

त्यसमा प्रतिष्पर्धा गरेका र उनका समर्थकहरु लाईनमा मतदातासँग भोट माग्न दिनभर सक्रिय रहे।

प्यानल

सभापतिमा मुख्य टक्कर हुने पूर्व अनुमान गरिएका कोइरालाले महामन्त्रीमा स्वर्गिय नेता गणेशमान सिंहका छोरा प्रकाशमान सिंह र कोषाध्यक्षमा पद्य नारायण चौधरी तथा देउवाले महामन्त्रीमा स्वर्गिय नेता महेन्द्र नारायण निधिका छोरा बिमलेन्द्र निधि र कोषाध्यक्षमा चित्रलेखा यादवलाई आआफ्नो पक्षबाट घोषित रुपमा उठाएका छन्।

दुबै पक्षले केही सदस्यहरुलाई पनि आधिकारिक समूहमा राखेको बताइए पनि सूचिमा नपरेकाले आफ्ना प्रतिष्पर्धीलाई सघाउने आशंकाले सूचि आधिकारिक रुपमा सार्वजनिक गरिएन।

बरु दुबै पक्षका आधिकारीक भनिएका विभिन्न थरी सूचिहरु कतिपय मतदाताको हातमा देख्न पाइन्थ्यो।

चुनावी मैदानमा समर्थकहरुले मतदाताहरुसँग भेट गराउन देउवालाई घरी यता घरी उता डोरोर्‍याइ रहेको पनि देखियो।

लखतरान

भोट माग्दा माग्दा लखतरान देखिने देउवा नजिकैको किराना पसल अगाडि केहिबेर थचक्क बसेका थिए।

त्यसैबेला एक हुल युवतीले कोइरालाको निम्ति उनीसंग एक भोट माग्दा देउवा हाँसे मात्र।

त्यसपछि ती युवती अलि पर गई कोइरालाको पक्षमा गीत मार्फत भोट माग्न थाले।

विसन्चो भएकाले कोइराला सोमबारको बन्द सत्र र मंगलबार चुनावस्थलमा सक्रिय देखिएनन्।

उनीहरु मध्ये कसैले पनि आधाभन्दा बढी भोट नपाएमा बढी भोट ल्याउने दुई जनाबीच फेरी चुनाव हुनेछ।