प्रधानमन्त्री चयन प्रक्रिया रोक्न सभामुखलाई आग्रह

  • 23 सेप्टेम्बर 2010
prachanda, madhav kumar nepal
Image caption दुइ बामपन्थी दल मिलेर सभामुखलाई प्रधानमन्त्री चयन प्रक्रिया रोक्न आग्रह गरेका छन्

प्रधानमन्त्री चयनको जारी प्रक्रिया रोक्न एकीकृत नेकपा माओवादी र नेकपा एमालेले बिहिबार सभामुखलाई औपचारिक पत्र बुझाएका छन्।

दुइ दल मिल्दा आफुहरुसँग बहुमत रहेको भन्दै तिनले सभामुखलाई नयाँ कारवाही शुरु गर्न आग्रह गरेका हुन्।

पत्रमा ति दुइ दलले आफुहरुसँग संविधान सभाको बहुमत रहेकाले नेपाली कांग्रेसका उम्मेदवारले कुनै हालतमा बहुमत पाउन सक्ने स्थिति नरहेको तर्क गरेका छन्।

महाधिवेशनमा व्यस्त कांग्रेसले अब के गर्ने हो भन्ने चाहिँ प्रष्ट भइसकेको छैन।

कार्यान्वयन

दुइ दल मिलेर प्रधानमन्त्री चयन प्रक्रियामा भागै नलिने संयुक्त सहमति गरेको सातदिनपछि सभामुखलाई पत्र बुझाएर एक साता अघिको त्यो निर्णयलाई कार्यान्वयन गरेको बताएका छन्।

सभामुखलाई पत्र बुझाउनु अघि बिहिबार विहान माओवादी र एमालेबीच चारबुँदे सहमति भएको थियो।

सहमतिका लागि भएको वार्तामा सहभागी एमाले नेता भरतमोहन अधिकारी भन्छन्,’ “संविधान सभाका बहुमत सदस्यले भाग नलिने भनेपछि कांग्रेसले बहुमत पाउन सक्दैन त्यसैले सभामुखले नयाँ प्रक्रिया शुरु गर्नुहुन्छ भन्ने विश्वास छ।”

प्रतिस्पर्धा

बहुमतीय प्रणालीबाट प्रधानमन्त्री बनाउने सात पटकको प्रक्रियामा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलबीच प्रतिस्पर्धा हुँदै आएको छ।

माओवादी र एमालेले विहिबार गरेको निर्णयपछि कांग्रेसले के गर्ला?

कांग्रेस नेता रामचन्द्र पौडेल भन्छन्, “हाम्रो चुनावको काम सकिएपछि बैठक बसेर मात्र निर्णय गर्छौं।”

बीबीसीकी काठमाडौंस्थित एकजना संवाददाता भन्छिन, दुइ ठूला दलहरु एकातिर जाँदा एक्लीएको कांग्रेसले अब लिने निर्णयपछि तीन प्रमुख दलहरु एकठाउँमा आएर सहमतिको वातावरण बन्ला या नयाँ किसिमको ध्रुबिकरण होला भन्ने धेरैको जिज्ञाशा छ।