नेपाली कांग्रेसमा सुशील कोइराला नयां सभापति

  • 22 सेप्टेम्बर 2010
सुशील कोइराला
Image caption पांच दशक राजनीतिमा विताएका सुशील कोइराला पार्टी सभापति बनेका छन्

नेपाली कांग्रेसको १२ औं महाधिवेशनले आफ्नो नयां सभापतिका रुपमा सुशील कोइरालालाई निर्वाचीत गरेको छ। सुशील कोइराला १६५२ मत ल्याएर नयां सभापति पदमा विजयी भएका हुन्।

सभापति पदका लागि उनी संगै अन्य दुईजना नेता पनि प्रतिस्पर्धामा थिए। उनका निकटम प्रतिद्वन्द्वी शेरबहादुर देउवाले १३१७ मत पाएका छन् भने पार्टी भित्र तेस्रो धारको उम्मेदवार भनिएका नेता भीमबहादुर तामांगले भने जम्मा ७८ मत हासिल गरेका छन्।

महाधिवेशनको निर्वाचनमा कुल ३०८८ मत भएपनि मंगलबारको निर्वाचनमा३०६२ मत मात्र खसेको थियो भने २६ जना अनुपस्थित रहेका र १५ मत बदर भएको जनाइएको छ।

मंगलबार बेलुकी आठ बजे शुरु हुने भनिएको मतगणना पार्टीभित्रकै मतभेदका कारण ढीलो हुन गएर राती १२ बजेतिर मात्र आरम्भ भएका थियो।

सभापति पदमा निर्वाचीत भएपछि संचार माध्यमहरूलाई प्रतिक्रिया दिंदै सुशील कोइरालाले पार्टी भित्रको गुटबन्दीलाई निरूत्साहित पार्दै आफूले सबै सक्षम र योग्य नेता तथा कार्यकर्तालाई समेटेर अगाडी बढ्ने बताएका छन्।

विगतमा देखिएका कमी कमजोरी र विकृतिलाई आफूले पार्टीमा आउन नदिने पनि उनले बताएका छन्।

राजनीति

७१ बर्षका सुशील कोइरालाले झण्डै पांच दशक राजनीतिमा विताएका छन्। उनी छ बर्ष जेल परेका थिए भने झण्डै २० बर्ष प्रवासमा रहेर नेपाली कांग्रेसको राजनीतिमा सकृय रहेका थिए।

उनले नेपाली कांग्रेसमा केन्द्रीय सदस्य, महामन्त्री, उपसभापति र कार्यवाहक सभापतिको भूमिका निर्वाह गरिसकेका छन्।

नेपाली कांग्रेसको विधान अनुसार सुशील कोइराला अब तीन बर्ष पार्टी सभापति पदमा आसिन रहनेछन् र महाधिवेशन शुरू हुने बेला उनले एक कार्यकालका लागि मात्रै आफूले सभापति पदमा उम्मेदवारी दिने बताएका थिए।

महाधिवेशनमा अन्य पार्टी पदाधिकारीहरूका लागि भएको मतदानको मतगणना नेपाली समय अनुसार बेलुकीको सांझ छ बजेसम्म पनि जारी नै रहेको छ।