अनेरास्ववियुको अधिवेशनमा पार्टी गुटको छाप

  • 1 अक्टोबर 2010
एमाले सम्बद्ध विद्यार्थीहरु
Image caption एमाले भित्रको विभाजन उस्को विद्यार्थी संगठनभित्र पनि देखिएको छ

दुइ प्रष्ट खेमामा विभाजित रहेको भनिँदै आएको नेकपा एमालेका दुइ समुहका नेताहरुबीचको फरक विचार फेरि एकपटक जनकपुरमा छताछुल्ल भएको छ।

एमालेको भातृसंगठन अनेरास्ववियुको बीसौं राष्ट्रिय सम्मेलनको उदघाटन समारोहलाई संबोधन गर्ने क्रममा एमाले अध्यक्ष झलनाथ खनाल र प्रभावशाली नेता कपी ओलीले परस्पर विरोधी भाषण गरेका थिए।

उनीहरूले राजनीतिक गतिरोधको विषयमा अलग अलग धारणा व्यक्त गरेका छन्।

अध्यक्ष खनालले एकीकृत नेकपा माओवादीलाई बाहिर राखेर संविधान लेखन र शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन नसकिने बताए।

सहमति

तर नेता ओलीले एमाले कार्यकर्ताको हत्या गर्ने र घर जग्गा कब्जा गर्ने माओवादीसँग सहमति गर्न नहुने बताएका छन्।

ओली भन्छन्, "हाम्रा कार्यकर्ताको टाउको फुटाउने, जग्गा कब्जा गर्ने अनि कसरी माओवादीसँग मिल्न सकिन्छ?"

जनकपुरमा शुक्रबार शुरु भएको अनेरास्ववियूको बीसौं राष्ट्रिय सम्मेलनमा एमालेका दुइवटै गुटका प्रभावशाली नेताहरु जनकपुर आइपुगेका छन्।

अध्यक्ष झलनाथ खनाल, एमाले नेताहरु केपी ओली, इश्वर पोखरेल, बामदेव गौतम र अशोक राई लगायतका नेताहरु उदघाटन समारोहमा उपस्थित थिए।

नेतृत्व चयन

शुक्रबारदेखि चारदिन चल्ने झण्डै तीन हजार प्रतिनिधि रहेको अनेरास्ववियूको सम्मेलनले नयाँ नेतृत्वको चयन गर्नेछ।

अध्यक्षका लाग वर्तमान उपाध्यक्ष सोभियत ढकाल र महासचिव माधव ढुंगेलले प्रतिस्पर्धा गर्दैछन्।

ढकाल संस्थापन पक्ष र ढुंगेललाई प्रधानमन्त्री माधवकुमार नेपाल तथा नेता कपी ओलीको समर्थन रहेको बताइन्छ।

जनकपुरस्थित बीबीसीका एकजना संवाददाता भन्छन्, दुइ प्रष्ट खेमामा बाँडिएको नेकपा एमाले पार्टीको गुटबन्दीको प्रभाव भातृ संगठन अनेरास्ववियूमा पनि देखिएको छ।