प्रधानमन्त्री छान्ने एघारौं प्रयास बिहीवार

  • 6 अक्टोबर 2010
सभामुख सुवासचन्द्र नेम्वाङ
Image caption दलहरुको सहमतिमा सभामुखले अर्को चुनाव बिहिवार राखेका छन्

प्रधानमन्त्री छान्ने संविधानसभा व्यवस्थापिका संसदमा भएको दशौं प्रयास पनि विफल भएको छ।

संसदको बहुमत ओगटेका एकिकृत नेकपा माओवादी र नेकपा एमालेले मतदानमा भाग लिएनन्।

मत परिणाम सुनाउँदै सभामुख नेम्वाङले भने, “माननिय रामचन्द्र पौडेललाई प्रधानमन्त्रीमा निर्वाचित गरियोस भन्ने प्रस्तावको पक्षमा १०९ मत, विपक्षमा १ मत र तटस्थमा ४६ मत परेको छ।”

नेपाली कांग्रेसका नेता पौडेलको पक्षमा बहुमत नपुगेपछि सभामुखले दलहरुको सहमतिमा अर्को मतदान बिहीवारको निम्ति तोकेका छन्।

प्रावधान

आफ्नो पक्षमा बहुमत जुटाउने प्रयास बारम्वार विफल भएपछि माओवादी अध्यक्ष पुष्पकमल दाहालले चुनावी मैदान छाडेपछि मैदानमा पौडेलमात्र बाँकी छन्।

तर चुनावी प्रकृया शुरु भइसकेपछि एक्लो उम्मेदवारले पनि संविधासभा संसदको बहुमत जुटाउनु पर्ने प्रावधान छ।

त्यसैले मतदानमा सहभागि नहुने अडानमा माओवादी र एमाले अडिग रहँदासम्म उनी प्रधानमन्त्री बन्न सक्ने स्थिति छैन्।

दशौं प्रयास विफल भएको कारण त्यही थियो।

माओवादी र एमालेले राष्ट्रिय सहमतिको निम्ति भन्दै पौडेललाई चुनावी मैदान खाली गर्न दवाव दिइरहेका छन्।

तर सहमति जुटेपछि मात्र उम्मेदवारी फिर्ता लिने भन्दै कांग्रेस चुनावमा एक्लै भिडि रहेको छ।