मतदाता नामावली संकलन अवरोध अन्त्य हुने

  • 9 अक्टोबर 2010
निर्वाचन आयोग कार्यालय
Image caption आयोगको नामावली संकलनमा केही जिल्लामा तराई केन्द्रित दलहरुले अवरोध सृजना गरिरहेका थिए

फोटो र औंला छाप सहितको मतदाता नामावली संकलन कार्यमा उत्पन्न अवरोध अन्त्य हटाउने गरी तराई केन्द्रीत दल र निर्वाचन आयोगबीच सहमति भएको छ।

उक्त सहमतिपछि अब नामावली संकलन विना बाधा अवरोध अगाडी बढने बाटो खुलेको छ।

निर्वाचन आयोगका सचिवको नेतृत्वमा आयोगका अधिकारीहरु र तराई केन्द्रीत चार मुख्य दलका प्रतिनिधिहरुबीच भएको बैठकले अवरोध अन्त्य गर्ने सूत्र पहिल्याएको थियो।

सहमति

यसअघि आयोगले नामावली संकलनमा नागरिकतालाई मात्र आधार मानेको थियो।

नागरिकता नहुनेको हकमा साविकको मतदाता नामावलीलाई पनि आधार मन्न आयोग सहमत भएको छ।

बैठकका सहभागि मधेसी जनअधिकार फोरमका केन्द्रिय सदस्य सिताराम अग्रवालले भने, “पुरानो मतदाता नामावलीमा रहेका तर नागरिकता नभएकाहरुको पनि नाम अब समावेश हुने भएको छ।”

नागरिकता नभएका र मतदाता नामावलीमा पनि नपरेकाहरुको हकले भने मतदाता नामावली ऐन अनुसार तथा स्थानिय निकायको सिफारिस लगायतका प्रावधान अपनाइने सहमति भएको छ।

विरोध फिर्ता

निर्वाचन आयोगका कर्मचारी तहले गरेको सहमति आयोगका पदाधिकारीहरु समक्ष सोमवार पेश गर्ने एकजना अधिकारीले बताए।

उनका अनुसार, आयोगको बैठकले त्यसलाई अनुमोदन गरेपछि सहमति कार्यान्वयनमा आउने छ।

फोरम नेता अग्रवाल भन्छन्, “त्यसपछि मतदाता नामावली संकलनमा हामीले गरिरहेको विरोध फिर्ता लिन्छौं। सबै नेपाली मतदाता नामावलीमा समावेश हुन पाउने छन्।”

आयोगले नामावली संकलन प्रारम्भिक चरणमा ४३ जिल्लाका ५८ नगरपालीकामा गरिरहेको छ।

केही जिल्लामा तराई केन्द्रित दलहरुले त्यसमा अवरोध सृजना गरिरहेका थिए।