राष्ट्रपतिद्वारा गतिरोध तोड्न शीर्ष नेताहरुलाई आग्रह

  • 19 अक्टोबर 2010
प्रचण्ड र माधव नेपाल
Image caption प्रधानमन्त्री नेपालले कार्तिकको पहिलो साता बजेट ल्याउन जोड दिइरहेका छन्

दशैं सकिए लगत्तै मंगलबार राष्ट्रपति डाक्टर रामवरण यादवले देशमा उत्पन्न जटिल परिस्थितिकाबारे प्रधानमन्त्री र प्रमुख तीन दलका शीर्ष नेताहरुलाई भेटी गम्भीर चिन्ता र चासो व्यक्त गरेका छन्।

सो अवसरमा राष्ट्रपतिले संविधान तथा सरकार निर्माण गर्न, र वार्षिक कार्यक्रम र बजेट ल्याउनको निम्ति उच्च सहमति जुटाउन नेताहरुलाई आग्रह गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।

राष्ट्रपति कार्यालयका प्रवक्ता ध्रुवकुमार शर्मा द्वारा प्रेषित विज्ञप्तीमा जनाइएअनुसार राष्ट्रपति निवाशमा भएको सो भेटघाटमा राष्ट्रपतिले वर्तमान अवस्थामा दलहरुबीच आपसी विश्वास, सहमति र सहकार्यको विकल्प नरहेको धारणा राखेका थिए।

भेटमा प्रधानमन्त्री माधवकुमार नेपालका अतिरिक्त एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति सुशील कोइराला र नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल उपस्थित थिए।

‘एक’

राष्ट्रपतिसंगको भेटपछि कांग्रेस सभापति सुशील कोइरालाले आफूहरु एक भएर राजनीतिक गतिरोध तोड्न तयार रहेको प्रतिक्रिया संवाददाताहरुलाई दिए।

“एक ढिक्का भएर देशका समस्या समाधान गर्ने हाम्रो सहमति भयो।”

एमाले अध्यक्ष झलनाथ खनालका अनुसार भेटमा नेताहरुबीच संविधान निर्माण, सरकार गठन र शान्ति प्रक्रिया टुङ्ग्याउने विषयमा सहमति बनाउदै अघि बढ्ने सहमति भएको छ।

सो अवसरमा प्रधानमन्त्री नेपालले कामचलाउ सरकारले भोगिरहेका कठिनाईहरुकाबारे नेताहरुलाई जानकारी गराएको बताइएको छ।

‘संकट’

कार्तिकको पहिलो साताभित्र बजेट नल्याए देश जटिल आर्थिक संकटतर्फ धकेलिने कुरा प्रधानमन्त्री नेपालले बारम्बार दोहोराइरहेका छन्।

तर प्रमुख प्रतिपक्षी एकीकृत माओवादीले भने कामचलाउ सरकारले बजेट ल्याउने कुराको कडा विरोध गर्दै आएको छ।

अर्को तिर संसदमा १२ पटकसम्म चुनाव हुदा पनि देशले नयाँ प्रधानमन्त्री पाउन सकेको छैन।

नेपाली कांग्रेसले उम्मेदवारी फिर्ता नलिएसम्म राजनीतिक गतिरोध नटुङ्गिने भनाई एकीकृत माओवादीको छ।