चीनको खानीमा विष्फोट, २० को मृत्यु

  • 16 अक्टोबर 2010
चीनको एउटा कोइला खानीमा मजदूर
Image caption खानीहरुको सुरक्षा स्थिति सुधार्न प्राथमिकता दिएको सरकारले बताएको छ (फाइल फोटो)

चीनको हेनान प्रान्तमा रहेको एउटा कोइला खानीमा भएको विष्फोटमा २० जनाको ज्यान गएको छ।

दक्षिण अमेरिकि देश चिलीमा दुई महिनादेखि जमीनमुनी खानीमा फँसेका ३३ जना मजदूरहरुको उद्वार गरिएको दुई दिनपछि एशियाली मुलुक चीनको कोइला खानीमा भएको विष्फोटमा परि १७ जना खनिकहरु जमीनमुनि फँसेका छन्।

उक्त विष्फोटन हुँदा त्यहाँ मुनि २७० जना भन्दा बढि खनिकहरु काममा व्यस्त थिए।

चिनियाँ अधिकारीहरुका अनुसार ती मध्ये अधिकांश कामदार सकुशल बाहिर निस्कन सफल भए।

खानीमा फँसेका मजदूरहरुलाई बाहिर निकाल्न आपतकालीन उद्वारकर्ताहरु लागिपरेका छन्।

उपनाम ली रहेका एकजना चिनियाँ अधिकारीले जनाए अनुसार मजदूरहरु कति गहिराईमा फँसेका छन् भन्ने कुरा स्पष्ट भएको छैन।

‘असुरक्षित’ खानी

हालै चिलीमा गरिएको नाटकिय उद्वारपछि भएको यस घटनाले चीनको कोइलाखानीहरु कति असुरक्षित छन् भन्ने कुरा फेरि चर्चामा आएको छ।

चीन सरकारले करीब एक हजारवटा साना तथा गैरकानुनी खानीहरु बन्द गराएको छ।

तर पनि गएको एक वर्षभित्र मात्रै २६०० चिनियाँ खनिकहरु मारिइसकेका छन्।

चीन आफ्ना खानी उद्योगहरुमाथि निकै निर्भर छ।

कोइलाले मात्रै चीनको उर्जा मागको ७० प्रतिशत धानेको छ।

चीन सरकारले खानीहरुको सुरक्षा स्थिति सुधार्ने कामलाई प्राथमिकता दिएको छ।

सन् २००२ मा ७००० को ज्यान गएको खानी दुर्घटनाहरुबाट सन् २००९ मा २६०० को ज्यान गयो।

यसै महिनाको शुरुमा चीनले एउटा नयाँ नियम ल्यायो जस अन्तर्गत खनिकहरुसंगै उद्योग व्यवस्थापकहरुलाई पनि खन्ने ठाउँसम्म जान अनिवार्य गराइएको छ।

यसले खानीको सुरक्षा स्थिति सुध्रने विश्वास गरिएको छ।

त्यसरी संगै नजाने व्यवस्थापकहरुले चर्को जरिवाना तिर्नु पर्ने हुन्छ।

तर पनि आर्थिक नाफाको लोभमा कतिपय अवस्थामा सुरक्षा स्थितिप्रति ध्यान पुग्न सकेको छैन।