तेह्रौं चुनाव अगावै सहमतिमा माओवादीको जोड

  • 20 अक्टोबर 2010
रामचन्द्र पौडेल
Image caption नेपाली कांग्रेसका प्रधानमन्त्रीका उम्मेदवार चुनावी मैदानमा एक्लो छन्

प्रमुख प्रतिपक्षी एकीकृत माओवादीले प्रधानमन्त्री चयनको लागि हुने तेह्रौ चरणको चुनाव अगावै प्रमुख दलहरुबीच सहमति जुट्नु पर्नेमा फेरि जोड दिएको छ।

सो दलका एकजना वरिष्ठ नेताका अनुसार सहमति जुटाउन अन्य प्रमुख दलहरुसँगको संवादला तिव्रता दिइने छ।

तर प्रधानमन्त्रीको चुनावी प्रक्रियाबाट पछि नहटेको नेपाली कांग्रेसले भने, उस्कै शब्दावलीमा, शान्ति प्रक्रियालाई टुङ्ग्याउन माओवादीबाट परिणाममुखी प्रतिबद्धता नआएसम्म सहमति हुन नसक्ने अडान दोहोर्‍याएको छ।

बुधबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमा बसेको एकीकृत माओवादीको पदाधिकारी वैठकमा राजनीतिक गतिरोध तोड्ने उपायका विषयमा गम्भीर छलफल भएको एकजना माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले बताए।

उनका अनुसार कार्तिक ९ गते प्रधानमन्त्री चयनको लागि हुने १३औं चुनाव अगावै प्रमुख दलहरुबीच सहमति जुटाउन छलफललाई तिब्रता दिने निर्णय भएको छ।

‘आधार’

तर सहमतिको निम्ति यस अघि कैयौ पटक भएका वार्ता निष्कर्षविहीन भएको पृष्ठभुमीमा यसपाली सहमति जुट्ने कुनै आधार नभएको धेरैको भनाई छ।

तर नेता प्रकाशले भने, “देश अनिर्णयको बन्दी भइरहेको र हामीले पहलकदमी लिएको अवस्थामा अब वार्ता गरेर सबै समस्याको हल हुन सक्छ।”

तर सहमतिको निम्ति एकीकृत माओवादी शान्ति प्रक्रियासँग सम्बन्धित विषयलाई सम्बोधन गर्न तयार हुनु पर्नेमा नेपाली कांग्रेसको जोड छ।

नेपाली कांग्रेसका प्रवक्ता अर्जुन नरसिंह केसीले भने, “उहाँहरु परिणाममुखी वार्ताका लागि तयार हो भने मात्र सहमति निस्कन सक्छ, तर सत्ता केन्द्रित वार्ताले कुनै परिणाम दिदैन।”

कामचलाउ

नयाँ प्रधानमन्त्री चयनका लागि १२ पटक भएका चुनाव निष्कर्षविहिन भएपछि कामचलाउ सरकारले नै कार्तिकको पहिलो साता बजेट ल्याउने तयारी गरिरहेको बताइन्छ।

त्यस्तो तयारीको विरोध गरिरहेको माओवादीले भने कार्तिक मशान्तसम्ममा पनि सहमति नजुटे बजेटको लागि वैकल्पिक व्यवस्था गर्न सकिने बताएको छ।

एकीकृत माओवादीका पदाधिकारीहरुको बुधबारको वैठकमा अध्यक्ष प्रचण्डको आसन्न चीन भ्रमण र २८ गते देखि गोर्खामा हुने भनिएको विस्तारित वैठकको तयारीका विषयमा पनि छलफल भएको बताइएको छ।