प्रचण्ड चीन तर्फ, सहमतिको प्रयास अलपत्र

  • 22 अक्टोबर 2010
संविधानसभा भवन
Image caption दलहरुबीचको विवादका कारण संविधान लेखन अवरुद्ध जस्तै छ

सबैभन्दा ठूलो दल एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उत्तरी छिमेकी चीनको चार दिने भ्रमणमा निस्किएका छन्।

उनको भ्रमण नेपाली राजनीतिमा चीनको बढ्दो चासोसँगै माओवादी नेताको तीव्र बनेको घोषित-अघोषित चीन यात्राको पछिल्लो कडिको हो।

यसलाई राजनीतिक र कूटनीतिक क्षेत्रमा महत्व र चासोका साथ हेरिएको छ।

तर प्रचण्डको अनुपस्थितिका कारण देशभित्र जारी सहमतिको प्रयासमा ठेस पुग्ने भएको छ।

जिम्मेवारी

अध्यक्ष प्रचण्ड संयोजक रहेको समितिलाई संविधान लेखनमा उत्पन्न अवरोध हटाउने उपाए आइतवारसम्म पहिल्याउने जिम्मा दिइएको छ।

एमाले र नेपाली कांग्रेस लगायतका दलका मुख्य नेताहरु समेत संलग्न समितिको नेतृत्व प्रचण्डले पाएपछि माओवादीले संविधान लेखनमा देखिएका विवादका मुद्दामा अधिकतम लचक हुने निर्णय पनि गर्यों।

त्यसले कतिपयमा संविधान लेखनका व्यवधान हट्ने आशा जगायो।

तर दशैं विदामा समेत सक्रिय देखिएको समितिले संयोजक नै विदेश हानिएपछि तोकिएको समयमै लक्ष्य पुरा गर्न सम्भव नहुने निश्चित भएको छ।

माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाश भन्छन्, “अब तोकिएको समयमा सहमति सम्भव नभएकाले समितिले थप म्याद लिन सक्छ।”

थुप्रो

व्यवस्थापिका संसदमा अर्को साता अनिर्णित हुने निश्चित प्रधानमन्त्रीको तेह्रौ मतदान हुँदैछ।

सन्निकट आर्थिक संकट टार्न यही साता आसपासमा बजेट ल्याउनै पर्ने खाँचो औंल्याइँदै छ।

ती सबै कुरामा राजनीतिक सहमति जरुरी छ। त्यसको निम्ति नेतृत्वको अनुपस्थिति खट्किनु अस्वाभाविक होइन।

माओवादी नेता प्रकाशले प्रचण्डको अनुपस्थितिमा पनि वार्ता र सम्वाद जारी राख्ने बताए।

माओवादीको आन्तरिक जीवनको निम्ति निकै पेचिलो हुने ठानिएको विस्तारित बैठक पनि प्रचण्डको चीन भ्रमणलाई आधार बनाउँदै पछि धकेलिएको थियो।

आफ्नो पार्टी, संसद र संविधानसभाभित्र समस्याको थुप्रो लागेका बेला प्रचण्डले थालेको चीन भ्रमणलाई कतिपयले अर्थपूर्ण त कतिपयले आलोचनात्मक रुपमा हेरेका छन्।