धान उत्पादन घट्ने सरकारी अनुमान

  • 23 अक्टोबर 2010
धान रोपिएका खेत
Image caption धानबालीको उत्पादनमा हुने गिरावटले अर्थतन्त्रलाई ठूलो धक्का पुग्ने ठानिएको छ

धानको लागि महत्पूर्ण तराईका केही जिल्लामा करीब पाँच प्रतिशत खेत बाँझै रहेपछि अनुमान गरेभन्दा डेढ लाख टनले धान उत्पादन घट्ने भएको अधिकारीहरुले जनाएका छन्।

कुल आर्थिक वृद्धिमा बीस प्रतिशत हिस्सा ओगट्ने धान उत्पादन घट्नासाथ सरकारको आर्थिक लक्ष्यहरु डाँवाडोल हुने चिन्ता बढेको छ।

आँकडा

परार ४५ लाख टन धान फलेको किर्तिमानपछि पोहोर ह्वात्तै तीन लाख टनले धान उत्पादन घटेको थियो।

यसपाली त्यति धेरै नघटेपनि परारको किर्तिमानभन्दा निकै कम धान उत्पादन हुने अनुमान छ।

कारण के त?

कृषि मन्त्रालयका प्रवक्ता डा हरि दाहालको जवाफ छ, “यसपटक धान रोपाईं हुने कुल क्षेत्रमध्ये पाँच प्रतिशत क्षेत्रमा रोपाईं हुन सकेन। खासगरी धानको लागि महत्वपूर्ण मानिने सिराहा, सप्तरी, धनुषा, महोत्तरी र सर्लाही जिल्लामा राम्रो पानी पर्न सकेन।”

सरकारी आँकडा अनुसार सिराहामा त केवल ५२ प्रतिशत क्षेत्रमा रोपाईं भयो भने सप्तरीमा ७५ प्रतिशतमा मात्रै भयो।

देशभरमा कुल साढे पन्ध्र लाख हेक्टर क्षेत्रमा धान रोप्ने गरिन्छ।

तर यसपाली झण्डै पौने एक लाख हेक्टर खेत बाँझै रह्यो।

त्यसको परिणाम नमीठो हुने सरकारी अनुमान छ।

“धान धेरै फल्ने ठाउँहरुमै पानी नपरेका कारण यसपाली धान उत्पादन डेढ लाख टनले घट्ने हाम्रो अनुमान छ,” दाहालले भने।

धानको शान

पोहोर साल धान उत्पादन एघार प्रतिशत घट्दा आर्थिक वृद्धि एक प्रतिशतले घटेको थियो।

अपेक्षा गरेको साढे पाँच प्रतिशतको वृद्धि साढे तीनमा सीमित भएको थियो।

बन्द, हड्ताल, राजनीतिक अस्थीरता आदि यावत समस्या एकातिर र धानको उत्पादनमा आएको ११ प्रतिशत गिरावट अर्कोतिर राख्दा धानकै पल्ला भारी देखिएको थियो।

त्यति धेरै महत्वको धानले यसपालीपनि सन्तोष दिलाउन नसक्ने देखिएको छ।

उसै त बेलामा बजेट आउन नसकेको पीडाले रन्थनिएको सरकारलाई धानको खबरले थप चिन्ता बढाएको छ।