विवादका बीच बाबुरामद्वारा कार्यकर्तासंग भेटघाट

  • 30 अक्टोबर 2010
माओवादीका शीर्ष नेताहरु
Image caption विस्तारित बैठक अघि माओवादीमा आन्तरीक विवाद चर्किन थालेका समाचार आएका छन्

केही सातामा हुने विस्तारित बैठकमा पेश गरिने प्रतिवेदनबारे अहिलेनै कार्यकर्तामाझ छलफल गर्न खोजेका उपाध्यक्ष बाबुराम भट्टराईमाथि लगाउन खोजिएको रोकलाई उनले चुनौती दिएका छन्।

कोचिला राज्य समितिले छुट्टाछुट्टै भेला गर्न नपाइने भनेर गरेको भनिएको निर्णयको बेवास्ता गर्दै उनले शनिबार विराटनगरमा कार्यकर्तासंगको भेटघाटमा विस्तारित बैठक र आफनो प्रतिवेदनमाथि छलफल गरेका छन्।

घरझगडा

अरु दलहरुसंग विभिन्न विषयमा विवादमा अल्झिएको एकीकृत माओवादी अहिले आफ्नै दलभित्रको विवादले समाचारको शीर्षकमा छ।

विराटनगरमा भट्टराईले शनिबार दिएको खुल्ला चुनौतीले माओवादीको घरझगडा चर्केको छनक दिएको छ।

मंसिर ५ गतेदेखि बस्ने भनिएको विस्तारित बैठकमा पार्टि अध्यक्ष प्रचण्ड, उपाध्यक्षद्वय बाबुराम भट्टराई र मोहन वैद्य किरणले प्रस्तुत गर्ने तीन फरक प्रतिवेदनमाथि छलफल हुनेछ।

ती प्रतिवेदन माथि विस्तारित बैठक अघि कार्यकर्ता माझ छुट्टाछुट्टै छलफल नगर्ने सहमति नेतृत्व तहमा भएको भनिएको थियो।

सोही आडमा कोचिला राज्य समितिले उपाध्यक्ष भट्टराईको कार्यकर्ता भेला रोक्न खोजेको बताइएको थियो।

त्यस्ता प्रयासहरुप्रति रुष्ट भट्टराईले विराटनगर पुगेलगत्तै सञ्चारकर्मीहरुसंग त्यसबारे आक्रोश पोखे।

“पार्टिको उपाध्यक्ष कार्यक्रम गर्न आएको छ। उसलाई कार्यकर्तासंग भेट्न नदिने भनेर कसैले भन्न सक्छ?” उनले भने।

उनले सबै किसिमको दृष्टिकोण राख्ने कार्यकर्ताहरुसंग भेट्न खोजेको बताए।

“समर्थकहरुसंग मात्रै भेट्नु भनेको त लोकतन्त्रै होइन नी, त्यो त पञ्चायत जस्तो भइहाल्यो नी,” उनको भनाई थियो।

भेटघाट

विवादका बीच शनिवार उपाध्यक्ष भट्टराईले विराटनगरमा कार्यकर्ता माझ गरेको भेटघाट कार्यक्रममा सञ्चारकर्मीलाई निषेध गरीएको थियो।

उक्त कार्यक्रममा कोचिला राज्य समिति अन्तर्गतका भट्टराई समर्थक कार्यकर्ताहरुको उपस्थिति बढि देखिएको थियो।

अन्य पक्षका नेता तथा कार्यकर्ता पनि छलफलमा सहभागी भएका थिए।

कार्यकर्ता भेला गर्ने तयारी भए पनि आन्तरीक मतभेदका कारण त्यसलाई भेटघाट मात्र भनिएको थियो।

भेटघाट अघि सञ्चारकर्मीहरुसंगको कुराकानीमा पार्टिभित्र आन्तरिक लोकतन्त्रलाई संकुचित गर्न खोजिए आफुलाई सह्य नहुने चेतावनी भट्टराईले दिएका थिए।

“जब अरुसंग त हामी लोकतन्त्र, जनवाद र जनतन्त्रको व्यापक विस्तार गर्नुपर्छ भन्छौं भने हाम्रो आफ्नै पार्टिभित्र भेटघाट, कुराकानी गर्न नदिने भन्ने प्रश्नै उठ्दैन,” भट्टराईले भने।

तर पार्टि अध्यक्ष प्रचण्ड र अर्का नेता मोहन वैद्य किरण समर्थकहरुले भने छुट्टाछुट्टै भेला गरेर प्रतिवेदनमाथि छलफल गर्दा पार्टिमा गुटवन्दी बढ्ने र कार्यकर्ताहरुमा नराम्रो सन्देश जाने भन्दै त्यस्तो भेलाको विरोध गर्दै आएका छन्।