दलहरुले सहमति गर्नेमा चिनियाँ प्रधानमन्त्री विश्वस्त

  • 31 अक्टोबर 2010
राष्ट्रपति रामवरण यादव
Image caption भेटमा राष्ट्रपति यादवले नेपालको एक चीन नीतिप्रतिको प्रतिबद्धता दोहोर्‍याए

चीन भ्रमणमा रहेका राष्ट्रपति रामवरण यादवसंग आईतबार शांघाईमा भएको भेटघाटमा प्रधानमन्त्री वेन जियाबाओले नेपाली दलहरुले समझदारी गरी छिट्टै समाधान दिने कुरामा आफु विश्वस्त रहेको बताएको अधिकारीहरुले जनाएका छन्।

बैठकमा संगै रहेका पर्यटनमन्त्री शरतसिंह भण्डारीका अनुसार चिनियाँ प्रधानमन्त्रीले नेपाली दलहरुले आपसी छलफलबाट राजनीतिक निकास निकाल्ने विश्वास व्यक्त गरेका थिए।

सहयोग

भेटमा उनले नेपाललाई झण्डै पौने एक अर्ब रुपियाँको नयाँ सहयोग राशीको घोषणा गरे।

यो रकम चीनले नियमित दिंदै आएको वार्षिक करीब डेढ अर्ब रुपियाँ बराबरको सहयोगभन्दा थप हो।

साथै उनले नेपालको पूर्वाधार विकासमा निरन्तर सहयोग गर्ने बताउँदै सम्भाव्यता अध्ययन गरी परियोजना प्रस्ताव ल्याउन पनि आग्रह गरेको बैठकमा संलग्न अधिकारीहरुले बताएका छन्।

चिनियाँ उच्च नेतासंगको आफ्नो पहिलो औपचारिक भेटमा राष्ट्रपति यादवले नेपालको शान्ति प्रक्रिया र पूर्वाधार विकासको क्षेत्रमा सहयोग बढाउन चिनियाँ प्रधानमन्त्रीसंग आग्रह गरेका थिए।

शांघाईको स्टेट गेस्ट हाउसमा दिउँसो तीन बजेदेखि २० मिनेट राष्ट्रपति यादव र प्रधानमन्त्री वेनबीच वार्ता भएको थियो।

उक्त भेटमा राष्ट्रपति यादवले नेपाल एक चीन नीतिमा अडिग रहेको दोहोर्‍याउँदै चीनको राष्ट्रिय अखण्डता विरुद्ध नेपालको भूमि प्रयोग हुन नदिने प्रतिवद्धता जनाएका थिए।

निम्तो

चीनका लागि नेपाली राजदूत टंक कार्किका अनुसार शांघाई एक्स्पो समापन समारोहमा सरिक हुन मैत्रीपूर्ण सदभाव भ्रमणमा रहेका राष्ट्रपति यादवलाई प्रधानमन्त्री वेनले उपयुक्त समयमा चीन भ्रमणको निम्तो दिएका छन्।

आईतबार साँझ चिनियाँ प्रधानमन्त्री प्रमुख अतिथि रहेको एक्स्पो समापन समारोहमा सरिक भएका राष्ट्रपति यादव बिहान एक्स्पोको मुख्य एजेण्डा ‘बेटर सीटि बेटर लाइफ’ सम्बन्धी फोरमको उदघाटन समारोहमा पुगेका थिए।

साताव्यापी चीन भ्रमणको क्रममा शुक्रबार शांघाई पुगेका राष्ट्रपति यादवले शनिबार चीन, भारत, नेपाल र श्रीलंकाको मण्डप अवलोकन गरेका थिए।

राष्ट्रपति यादव सोमबार दक्षिण चीनको व्यापारिक शहर ग्वाङ्गझाओ हुँदै काठमाण्डौं फर्कने कार्यक्रम छ।