‘बुधबारको वार्तापनि निरर्थक हुन सक्छ’

  • 8 नोभेम्बर 2010
माओवादी नेताहरु
Image caption माओवादीले सरकारको नेतृत्व गर्ने अडान नत्यागे वार्ता निरर्थक हुने कांग्रेसको निश्कर्ष छ

प्रतिपक्षी माओवादीले उसकै नेतृत्वमा सरकार गठन हुनुपर्ने माग प्रमुखताका साथ उठाएकाले बुधबारको वार्तामा सहमति हुने सम्भावना कम देखिएको सरकारमा सहभागी नेपाली कांग्रेसका एकजना नेताले बताएका छन्।

बहुचर्चित तर विफल हात्तीवन वार्तापछि सोमबार पहिलो पटक बसेको नेपाली कांग्रेसको केन्द्रिय समितिको बैठकले शान्ति प्रक्रियाको तार्किक निश्कर्ष निकाल्ने भरपर्दो कार्यतालिका नआएसम्म माओवादीको नेतृत्वमा सरकार स्वीकार नगर्ने निश्कर्ष निकालेको ती नेताले बताए।

निरर्थक

माओवादी नेताहरुले खासगरी नेपाली कांग्रेस लचिलो नभएका कारण हात्तीवन वार्ता विफल भएको प्रतिक्रिया व्यक्त गरेको बेला उक्त पार्टिले सोही वार्ताको मूल्यांकनमा केन्द्रित भएर सोमबार बैठक गरेको थियो।

सो बैठकले पार्टिका अडानहरुलाई परिवर्तन नगर्ने निश्कर्ष निकालेको नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले बताए।

माओवादीले, उनकै शब्दमा, सबभन्दा पहिले उसको नेतृत्वको सरकार अनिमात्रै अरु समाधानको अडान नत्यागे २४ गतेको लागि तय गरिएको वार्ताले कुनै फल दिंदैन।

“त्यही अडान हो भने निरर्थक नै हुन्छ। माओवादीले समग्रमा आफ्नो नेतृत्वमा सरकार अनि त्यसै अन्तर्गत अन्य समाधान भनेको छ,” केसीले बताए।

नेपाली कांग्रेसले पहिले शान्ति प्रक्रिया, लडाकू समायोजन जस्ता कुराहरुको समाधान सहितको कार्यतालिका आउनुपर्ने माग राखिरहेको छ।

त्यसमा कुरा मिले प्रधानमन्त्री दौडबाट आफ्ना उम्मेदवार रामचन्द्र पौडेलको नाम फिर्ता लिने लगायतका विषयमा आफ्नो पार्टि खुला रहेको नेता केसीको भनाई थियो।

बजेट

कार्त्तिक २४ गतेको वार्ताको एउटा प्रमुख विषय बजेटबारे, नेपाली कांग्रेसले सरकार बनाउने कुरासंग बजेटलाई जोड्न नहुने निश्कर्ष निकालेको छ।

“समग्र देशलाई आर्थिक अराजकतामा जान नदिन बजेटलाई सरकार गठनसंग नजोडिकन छुट्टै समाधान निकाल्नै पर्छ,” नेता केसीले भने।

मुख्य दलहरुबीचका अडान कायमनै रहँदा बुधवारको निर्णायक हुने भनिएको वार्ताले निकास दिने कुरा त परै छाडौं, त्यसपछि सरकारले बजेट ल्याउनेबारे गर्ने ठानिएको निर्णयले उनीहरुबीचको तिक्तता झनै बढ्ने कतिपय विश्लेषकहरुले ठानेका छन्।

सम्बन्धित समाचार