तीन ठूला दलको शीर्षस्थ बैठक फेरि निष्कर्षविहीन

  • 10 नोभेम्बर 2010
झलनाथ खनाल
Image caption एमाले अध्यक्ष खनालसहित तीन दलका शीर्षस्थ नेताहरु बैठकमा सहभागी थिए

संविधानसभाका तीन ठूला दलका शीर्षस्थ नेताहरुको बैठक लम्बिएको राजनीतिक गतिरोधको समाधान खोज्न फेरि विफल भएको छ।

गतिरोध जहाँको तहीं नै रहेपनि बैठक सकारात्मक भएको नेताहरुले बताएका छन्।

अर्को बैठक आउँदो कार्तिक २९ गते हुने भएको छ।

शान्ति प्रक्रिया पहिला कि नयाँ सरकार गठनको कुरा पहिला भन्ने विवादको अन्त्य गर्न सहमतिमा पुग्ने वाचा गर्दै पाँच दिन अगाडि शीर्षस्थ नेताहरुको बैठक सकिएको थियो।

निकास खोज्ने प्रयासमा यो पटक बैठक फरक ठाउँमा गरिएको थियो।

गएको साता फर्पिंगको सानो रिसोर्टमा जम्मा भएका ठूला नेताहरुले गोकर्णको ठूलो रिसोर्टमा घण्टौं मन्थन गरेका थिए।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', नेपाली काँग्रेसका सभापति सुशील कोइराला र एमालेका अध्यक्ष झलनाथ खनाल सहित तीन दलका पन्ध्रजना ठूला नेता घण्टौंलामो गोप्य वार्तामा सहभागी भएका थिए।

तीनवटै दलहरुले आआफ्नै डम्फु बजाउन नछोडेपछि निकासको साझा धून फेला पर्न नसकेको बताइएको छ।

तर नेताहरुले बैठकलाई विफल मान्न अस्वीकार गरेका छन्।

बैठकका एकजना सहभागी माओवादी नेता देव गुरुङले भने, “छलफल सकारात्मक ढंगले अगाडि बढेको छ।”

दुई विपरित अडानमा उभिएका एकीकृत माओवादी र नेपाली काँग्रेसका बीच सेतु बन्ने कोशिश गरेको बताउने एमालेका महासचिव ईश्वर पोखरेलले भने, “कुराहरु राम्रोसंग भयो र अर्को बैठकमा सबै नभएपनि धेरै नमिलेका कुरा मिल्ने वातावरण बनेको छ।”

उनका अनुसार बैठक संविधान निर्माण शान्ति प्रक्रिया र सत्ता साझेदारीमा केन्द्रित भएको थियो।

शीर्षस्थ बैठक पटक पटक विना निष्कर्ष टुंगिने गर्दा राजनीतिक गाँठो अरु गुजुल्टिएको धेरैले ठानेका छन्।

संकट

तर नेताहरुले आउँदो बैठकमा निकासका लागि एउटा ठोस निष्कर्षमा पुग्ने दावी गरेका छन्।

उक्त दिन प्रधानमन्त्रीको अन्तहीन चुनावको श्रृंखलाको अर्को चरण हुँदैछ।

त्यसको भोलीपल्ट सम्म नयाँ बजेट पेश भइ पारित नभएमा भयंकर आर्थिक संकट उत्पन्न हुनेछ।

विश्र्लेषकहरु भन्छन्, गतिरोध चाँडै अन्त्य गर्ने सहमति भएन भने गंभीर राजनीतिक संकट टार्न समेत ज्यादै मुश्किल हुनेछ।