‘माओवादीले भारतीय माओवादीलाई तालिम दिएको आधार छैन’

  • 17 नोभेम्बर 2010
सशस्त्र प्रहरी बलका महानिरिक्षक सनतकुमार बस्नेत
Image caption बस्नेतले भारतीय आरोपबारे कुनै प्रमाण नभेट्टाइएको बताएका छन्

शिविरमा रहेका एकिकृत नेकपा माओवादीका लडाकूहरूले भारतीय माओवादीलाई तालिम दिएको भन्ने भारतीय आरोप नेपाली सुरक्षा अङ्गका एक प्रमुखले अस्वीकार गरेका छन्।

साझा सवाल कार्यक्रमका लागि वीरगन्जमा बुधवार गरिएको अन्तरक्रियामा सशस्त्र प्रहरी बलका महानिरिक्षक सनतकुमार बस्नेतले भारतीय आरोपको कुनै आधार फेला नपरेको बताए।

नेपाली माओवादीले भारतीय माओवादीलाई तालिम दिएको आरोप लगाउँदै भारतीय दूताबासले परराष्ट्र मन्त्रालयलाई गत महिना पत्र लेखेको थियो।

'त्यस सम्बन्धमा पत्रिकामा समाचार आएपछि हामीले थाहा पाएर अनुसन्धान गर्यौं,' महानिरिक्षक बस्नेतले भने। 'त्यस्तो कुनै प्रमाण भेट्टाइएको छैन।'

प्रधानमन्त्री माधव नेपालले भारतीय पत्रका सम्बन्धमा उच्च तहबाट अनुसन्धान गरिने बताउँदै आए पनि अनुसन्धानबाट आएको परिणामको विषयमा सरकारी अधिकारीले यसअगाडि कुनै जानकारी दिएका थिएनन्।

परराष्ट्रमन्त्री सुजाता कोइरालाले केही दिन अगाडि पत्रकार सम्मेलन गरी भारतीय आरोपका सम्बन्धममा मन्त्रीपरिषदमा छलफल हुने बताएकी थिइन्।

एक अर्को प्रसङ्गमा महानिरिक्षक बस्नेतले माओवादी लडाकूको समायोजन र व्यवस्थापन सम्बन्धमा राजनीतिक तहबाट निर्णय गरिए केही लडाकूलाई सशस्त्र प्रहरी बलमा समायोजन गर्न सकिने बताए।

'मैले सुझाव दिनुपर्ने ठाउँमा सशस्त्र बलका तर्फबाट सुझाव दिइसकेको छु' महानिरिक्षक बस्नेतले भने। 'राजनीतिक तहबाट सशस्त्र बलमा पनि लडाकु समायोजन गर्नुपर्ने निर्णय गरिए हामी त्यसका लागि तयार छौं।'

नेपाली सेनाले भने पटक पटक राजनीतिक रुपले प्रशिक्षित लडाकू समायोजन गर्दा सेनामा नकरात्मक असर पर्ने धारणा सार्वजनिक गर्दै आएको छ।

नेपाल प्रहरीबाट लडाकू समायोजन सम्बन्धमा अहिलेसम्म कुनै अभिव्यक्ति प्रकाशमा आएको छैन।

प्रहरी महानिरिक्षक सनत बस्नेतसँगको अन्तरक्रिया आउँदो आइतबार राति नौ बजे बीबीसी नेपाली सेवाबाट प्रसारण हुँदैछ।