'विस्तारित बैठकमा लडाकू गए सम्झौता उलंघन हुन्छ'

  • 18 नोभेम्बर 2010
अन्मिन कार्यालय
Image caption अन्य पार्टी र सेनाको विरोधकाबीच अन्मिनले पत्र लेखेपछि माओवादीमाथि दवाव बढेको छ

एकिकृत नेकपा माओवादीले विस्तारित बैठकमा आफ्ना लडाकूहरुलाई सहभागि गराउने तयारीप्रति नेपालस्थिति संयुक्त राष्ट्रसंघीय मिसन अन्मिनले आपत्ती जनाएको छ।

त्यसो गरिए वृहद शान्ति सम्झौताको उलंघन हुने अन्मिनको ठहर छ।

अन्मिन प्रमुख करिन लनग्रेनले आफ्नो त्यो असन्तुष्टी माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पत्र पठाएर व्यक्त गरेकी छन्।

अन्मिन प्रवक्ता कसमस विश्वकर्माले भने, "माओवादी सेनाले विस्तारित बैठकमा भाग लिनु वृहद शान्ति सम्झौता र सेना तथा हतियार व्यवस्थापनको अनुगमन सम्बन्धी सम्झौताको भावना विपरित हुने पत्रमा लेखिएको छ।"

दवाव

अस्थाई शिविरमा रहेका आफ्ना लडाकूलाई विस्तारित बैठकमा सरिक गराउने तयारीलाई लिएर माओवादीले अन्य प्रमुख दलहरुको चर्को विरोध खेपिरहेको थियो।

नेपाली सेनाले अन्मिनको नेतृत्वमा रहेको संयुक्त अनुगमन समन्वय समिति (जेएमसीसी) को अघिल्लो बैठकमा औपचारिक रुपमै विरोध जनाएपछि उक्त प्रकरण थप जटिल बनेको थियो।

अन्मिन प्रमुख करिन लनग्रेनले प्रचण्डलाई पठाएको पत्रले ती विरोधलाई बल दिँदै माओवादी नेतृत्वमाथि थप दवाव सृजना गरेको छ।

तर अन्मिनले विगतका अन्य विवादित मुद्दामा जस्तै लडाकूलाई विस्तारित बैठकमा सहभागि नगराउन कुनै निर्देशन दिएको छैन।

प्रवक्ता विश्वकर्माको भनाई छ, "सबै पक्षलाई शान्ति सम्झौताहरुको पालना गर्न र शान्ति प्रकृया अप्ठेरोमा नपारोस भन्नेमा ध्यान दिन आग्रह गरेका छौं।"

भित्रि सन्तुलन

नेपाली सेना र माओवादी समेतको प्रतिनिधित्व रहेको जेएमसीसीको बिहिवारको बैठकमा पनि अन्मिनले उक्त विषयमा चासो व्यक्त गरेको थियो।

तर माओवादीका वरिष्ठ प्रतिनिधि अनुपस्थित उक्त बैठकमा थप छलफल भएन।

मंसीर ५ गतेदेखि शुरु हुन लागेको विस्तारित बैठकमा तीन शीर्ष नेताका प्रतिवेदन पेश हुने बताइएको छ।

तीनमाथि हुने वहसमा करिव १,३०० माओवादी लडाकूहरुको सहभागिता गणितिय हिसावले महत्वपूर्ण हुनेछ।

त्यसबाहेक आन्तरिक शक्ति सन्तुलनका कारणले पनि अन्मिनको पत्रको सकारात्मक सम्वोधन हुने गरी निर्णय लिन माओवादीलाई त्यति सजिलो देखिन्न।