माओवादीभित्रको विवाद महाधिवेशनसम्म लम्बिने

  • 21 नोभेम्बर 2010
माओवादी नेताहरु
Image caption तीन नेताको पक्ष विपक्षमा माओवादीभित्र कार्यकर्ताहरु खुलेरै लागेका छन्

विस्तारित बैठकमा पेश भएका अध्यक्षसहित तीन जना शीर्ष नेताहरुको फरक फरक प्रतिवेदनमा हुने भनिएको छलफलमा कटौती गर्ने निर्णयपछि माओवादीको आन्तरिक विवाद महाधिवेशनसम्म लम्बिने संकेत मिलेको छ।

दौडेर राजा हुने ठाउँको रुपमा इतिहासमा चर्चित लिगलिगकोट नजिकैको पालुङटारमा पाँच हजारको संख्यामा सहभागी हुने माओवादीका प्रतिनिधिहरुलाई प्रतिवेदनबारे सामूहिक छलफल गराउने कार्यक्रम थियो।

तर आईतबार विहान बसेको स्थायी समितिको बैठकले प्रत्येक राज्य समिति र त्यस सरहका समितिबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपाध्यक्षद्वय मोहन वैद्य किरण र डा बाबुराम भट्टराईका प्रतिवेदनका पक्षधर र स्वतन्त्र धारणा व्यक्त गर्न दिने निर्णय गर्‍यो।

त्यसो गर्दा सबै सदस्य औपचारिक रुपमै खुल्ने स्थितिको अन्त्य हुनेछ।

तीनै पक्षका प्रतिनिधिमूलक धारणा सुनेपछि मिल्न सक्ने मतभेदलाई समेटेर साझा बनाउने, नमिलेका विषय महाधिवेशनको जिम्मामा पुग्नेछ।

मूल मतभेद

खासगरी गणतन्त्र स्थापनापछि कुन बाटोबाट अगाडी बढ्ने र आफ्नो लक्ष्यको बाधक को हो भन्ने किटान गर्नेमा मूल मतभेद देखिन्छ।

कम्युनिष्ट पार्टीभित्र अध्यक्षलाई चुनौति दिँदै फरक दस्तावेज तल्लो स्तरसम्म छलफलमा गएकाले कतिपयले प्रचण्डको नेतृत्वलाई दिइएको चुनौतिको रुपमा पनि अर्थ्याउने गरेका छन्।

त्यस तर्फ संकेत गर्दै उदघाटनका बेला प्रचण्डले भने, “सही विचार र सही नेतृत्वविना एकता सम्भव छैन। सही नेतृत्व र विचार रातारात बन्ने कुरापनि होइन र त्यो रातारात हटाउन सकिने कुरापनि होइन।”

पार्टीभित्र खासगरी उपाध्यक्ष भट्टराईको प्रभावमा परी नेतृत्व विचलनतर्फ जान लागेको भन्ने मत अर्का प्रभावशाली नेता मोहन वैद्य किरण पक्षको मानिन्छ।

स्वागत मन्तव्यको अवसर पाएका किरण निकट नेता सीपी गजुरेलले त्यसैतर्फ संकेत गरेका थिए।

“विजयको लागि तयार हुने एउटा विकल्प र हार स्वीकारेर आत्मसमर्पण गर्ने अर्को विकल्प छ। त्यो भन्दा बाहेक अर्को विकल्प छैन,” गजुरेलले भने।

कार्यकर्ताहरु तीनवटा पक्षमा खुला रुपमा बाँडिएर विस्तारित बैठकमा सहभागी भएको माओवादी नेताहरुले नै स्वीकार गरेका छन्।

तर उनीहरुले वैचारिक संघर्षमार्फत, उनीहरुकै शब्दमा, नयाँ आधारमा नयाँ एकता कायम गर्ने विश्वास दर्शाए।

राष्ट्रसंघीय मिसन अन्मिन र अन्य दलको आपत्तीको बेवास्ता गर्दै बैठकमा अस्थायी शिविरमा रहेका माओवादी सेनाका लडाकुहरु पनि सरिक गराइएका छन्।