मेरो उम्मेदवारी कायमनै छ: पौडेल

  • 21 नोभेम्बर 2010
रामचन्द्र पौडेल
Image caption एक्ला उम्मेदवार पौडेलले अर्को अधिवेशनमा आफ्नो प्रस्ताव कायमनै रहने बताए

कतिपयले अधिवेशनको अन्त्यसंगै प्रधानमन्त्री चयनको जारी प्रक्रिया तुहिएको बताएको बेला नेपाली कांग्रेसका नेता पौडेलले आफ्नो उम्मेदवारी कायमनै रहेको जनाउ दिएका हुन्।

“मेरो उम्मेदवारी कायम नै छ। विशेष अवस्थाका कारण अधिवेशन अन्त्य हुँदैमा मेरो दरखास्तीमा कुनै फरक पर्दैन। बरु सर्वोच्च अदालतले समेत मलाई निर्विरोध निर्वाचन गराउनुपर्ने बताएको छ,” उनले भने।

अध्यादेशमार्फत बजेट ल्याउन सरकारले चालु अधिवेशन अन्त्य गरिदिएपछि, सो अधिवेशनमा चलिरहेको प्रधानमन्त्रीको चुनावी प्रक्रियाबारे अन्योल बढेको बेला नेपाली कांग्रेसका नेता पौडेलले उनको उम्मेदवारीबारे संसदले चाँडो फैसला गर्दिनुपर्ने माग राखेका छन्।

आग्रह

सोह्रचोटि चयन हुन विफल भइसकेका पौडेलको उम्मेदवारीको प्रस्ताव सत्रौंचोटिको निम्ति मंसिर १६ गते संसदमा लैजाने निर्णय सभामुखले गरेका थिए।

तर सरकार र माओवादीबीच बजेटको विषयमा अचानक टकराव भएपछि सरकारले अधिवेशननै अन्त्य गरिदियो।

अधिवेशन अन्त्यसंगै चुनावी प्रक्रिया हठात अवरुद्ध भएकोमा अब तुरुन्त अर्को अधिवेशन डाकेर आफ्नो उम्मेदवारीको प्रस्तावमा फैसला गर्न पौडेलले आग्रह गरेका छन्।

“अधिवेशन चाँडो बोलाएर मेरो उम्मेदवारीको टुंगो लगाउनुपर्छ,” पौडेलले बताए।

‘अस्पष्ट’ नियम

तर उनको आग्रह कार्यान्वयन गर्ने बाटो अप्ठेरो देखिन्छ।

संसदका अधिकारीहरुले यो विषयमा नियमहरु स्पष्ट नभएको बताएका छन्।

उनीहरुले यो अन्योलको अन्त्य राजनीतिक दलहरुलेनै सहमतिमार्फत गर्नुपर्नेमा जोड दिएका छन्।

“त्यस प्रस्तावको हैसियतको बारेमा व्यवस्थापिका संसदको कार्य सञ्चालन नियमावलीमा स्पष्ट व्यवस्था छैन। संसदमा प्रतिनिधित्व गर्ने दलहरुबीचको समझदारीले यसको निचोड निकाल्न सक्छ भन्ने मलाई लागेको छ,” संसद सचिवालयका सहसचिव एवं कानुनी सल्लाहकार टेकप्रसाद ढुंगानाले बताए।

संसदको सबैभन्दा महत्वपूर्ण मध्ये एक जिम्मेवारी प्रधानमन्त्रीको चयनको मुद्दा त्यत्तिकै बेवारिसे छाड्ने स्थिति नभएको चाहीं अधिकारीहरुले स्वीकारेका छन्।

तर त्यसको लागि अर्को नयाँ राजनीतिक सहमति आवश्यक हुन्छ।

जुन हालको टकरावको स्थितिमा त्यति सजिलो देखिंदैन।

सम्बन्धित समाचार