विस्तारित बैठकमा किरण र भट्टराईलाई प्रचण्डको जवाफी प्रहार

  • 23 नोभेम्बर 2010
माओवादीको विस्तारित पालुंगटार बैठक
Image caption अध्यक्ष दाहालले आफू विरुद्ध उपाध्यक्षद्वयले लगाएका आरोपहरुको खण्डन गरेका छन्

एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले विस्तारित बैठकमा आफ्ना दुई जना उपाध्यक्षलाई जवाफ फर्काएका छन्।

आफ्नो प्रतिवेदनको व्याख्या गर्ने क्रममा उनले सोमबार उपाध्यक्षद्वय मोहन वैद्य किरण र डा बाबुराम भट्टराईले आफूमाथि लगाएका आरोपहरुको आक्रोशपूर्ण जवाफ दिएका हुन्।

करिव दुई घण्टा लामो व्याख्या र स्पष्टिकरणको क्रममा प्रचण्डले आफूलाई सोमबार राती राम्ररी निन्द्रा समेत नलागेको सन्दर्भ सुनाए। पार्टीमा आफू बहुमतमा रहन अवसरवादलाई प्रश्रय दिएको भनी उपाध्यक्ष किरणले लगाएका आरोपलाई उनले चर्को खण्डन गरेका थिए।

सुत्रहरुका अनुसार, प्रतिउत्तरमा उत्तेजित हुँदै प्रचण्डले भनेका थिए- "कस्लाई अवसरवादी भन्न खोजेको हो?"

अध्यक्ष प्रचण्डले खरिपाटी राष्ट्रिय भेलाले पारित गरेको कार्यदिशा लागू नगरेको किरण पक्षको अर्को आरोप रहेको छ।

त्यसको पनि प्रतिवाद गर्दै प्रचण्डले प्रतिप्रश्न गरे- "मैले कहाँ लागू गरिंन?"

उनी "यस्ता अमूर्त कुरा गर्ने" भन्दै कडकिएका थिए। आफ्नो प्रतिवेदन प्रचण्डसँग नजिक भए पनि किरण पक्षले प्रचण्डले कुरो एउटा र काम अर्कै गर्ने भन्दै उनमा रुपान्तरणको खाँचो औंल्याएको छ।

माओवादी प्रवक्ता दीनानाथ शर्माको जवाफ थियो- "अध्यक्ष कहीले रुपान्तरित हुन तयार नभएको हो र ? त्यसै भएर त उहां नेतृत्व गर्न सक्षम भएको हो।"

भारतलाई प्रधान शत्रु मान्ने कि नमान्ने भन्ने विषयमा भने प्रचण्डले गौर घट्ना, सेनापति प्रकरण, सांसदलाई दिइएको भनिएको धम्की, प्रधानमन्त्री चुनाव इत्यादी प्रसंग राख्दै डा भट्टराईको चर्को आलोचना गरे।

सुत्रले उनको भनाई उद्धृत गर्दै भन्यो, "प्रधानमन्त्री पदबाट मेरो राजिनामाको ड्राफ्ट बाबुरामजीले नै गर्नु भएको हो। त्यसमा विदेशी प्रभू भन्ने शब्द लेख्ने बाबुरामजी अहिले कतै आत्मसमर्पणको बाटोमा त लाग्नु भएको हैन?"

अनि १२ बुँदे सहमतिको ढोका खोलेको भनिएको चुनवाङ बैठकले पारित गरेको कार्यनीति भट्टराईको र खरिपाटी बैठकको जनविद्रोहको नीति किरणको हो भन्ने आफू इतर खेमाबाट आउने दावीप्रति पनि प्रचण्डमा चर्को असन्तुष्टी रहेछ।

त्यसको प्रतिवाद गर्दै उनले भने- "अरुको विचारको भरमा यत्रो १० वर्ष लामो क्रान्ति सफलतापूर्वक हाँक्न सम्भव हुने थिएन। नीति एउटाको नेतृत्व मेरो भन्ने प्रचार सरासर भ्रम हो।"

बैठक चलिरहेको गोरखाको पालुङटारमा रहेका हाम्रा सम्वाददाता शरद केसी भन्छन्- तीन शीर्ष नेताहरुबीच सोमबार र मंगलबार भएको "वाक युद्ध" विहीबारदेखि राज्य समितिका प्रतिनिधिहरुको स्तरबाट तीन नेताहरुको पक्ष र विपक्षमा प्रकट हुने छ।