दक्षिण एसियाका वातावरणीय समस्याहरुबारे सम्मेलन

  • 7 डिसेम्बर 2010
प्रदुषित गंगा
Image caption भारतको गंगा नदीमा जस्तै प्रदुषण दक्षिण एसियाभर विकराल बन्दै छ

दक्षिण एसियाको वातावरण र विकासबारे छलफल गर्न काठमाण्डूमा भेला भएका विभिन्न देशका विज्ञहरुले जलवायु परिवर्तन लगायतका वातावरणीय समस्याहरुको हल गर्न सबै पक्ष लाग्नु पर्नेमा जोड दिएका छन्।

दुई दिन सम्म चलेको सो सम्मेलनकी प्रमुख आकर्षण अर्थशास्त्रमा नोवेल पुरस्कार जित्न सफल प्रोफेसर एलिनोर ओस्ट्रमले चाँही वातावरण संरक्षणमा समुदायहरुको अगुवाई र अपनत्वमा विशेष जोड दिइन्।

विकास र वातावरणीय अर्थशास्त्रका लागि दक्षिण एसियाली सञ्जाल नाम गरेको गैरसरकारी संस्थाले आयोजना गरेको वातावरण र विकास सम्वन्धी अन्तर्राष्ट्रिय सम्मेलनका २५ देशका १५० जना विज्ञहरु भेला भएका थिए।

सहभागीहरुले कार्वन उत्सर्जन, जलवायु परिवर्तन, प्राकृतीक विपत्ती, कृषि, वन संरक्षणका चुनौती जस्ता वातावरणीय समस्याहरुको समाधानका विषयमा गम्भीर छलफल गरेका थिए।

अगुवाई

उनीहरुले वातावरणीय समस्याहरुको समाधान गर्न सरकारहरु र समुदायहरु मिलेर लाग्न आव्हान गरे।

सो सम्मेलनमा सहभागी हुन आएकी नोवेल पुरस्कार विजेता अमेरिकी प्रोफेसर एलिनोर ओस्ट्रमले स्थानीय समुदायहरुको अगुवाईमा गरिने संरक्षण प्रयासहरुले सकारात्मक परिणामहरु दिने कुरामा जोड दिइन्।

“समुदायहरुले अपनत्व लिएमा संरक्षणबारेका समस्याहरु हल गर्न सम्भव हुन्छ।”

प्रोफेसर ओस्ट्रमले पश्चिम नेपालमा गाउँहरुमा समुदायहरुद्वारा सञ्चालित सिंचाई प्रणालीको प्रभावकारीताबारे अनुसन्धान गरेकी थिइन्।

सो विषय उनलाई सन् २००९को अर्थशास्त्रको नोवेल पुरस्कारको विजेता बनाएको अनुसन्धानमा पनि समेटिएको थियो।

सम्मेलनमा ओस्टरले स्थानीय समुदायहरुको निरन्तर सहभागिता भएमा वन तथा निकुञ्ज संरक्षण प्रयासहरु सफल हुनेमा जोड दिइन्।

‘उदासिन’

विश्व तापमानमा वृद्धिका कारण हिमालय क्षेत्रमा हिउँ पग्लीने क्रममा देखिएको परिवर्तन, बढ्न थालेको समुद्र सतह, तिब्र जनसंख्या बृद्धी र शहरिकरण, वन विनाश, कृषि प्रणालीमा उतारचढाव दक्षिण एसियाका प्रमुख वातावरणीय समस्याहरु हुन्।

तर त्यसको समाधान प्रति सरकारहरु उदासिन रहेकोप्रति काठमाण्डू सम्मेलनमा आएका विज्ञहरुले चिन्ता व्यक्त गरेका थिए।