प्रस्तावनामा सहमति जुटाउने प्रयास विफल

  • 8 डिसेम्बर 2010
संविधानसभा भवन
Image caption दलीय मतभेदका कारण संविधानसभामा संविधान लेखनले गति लिन सकिरहेको छैन

संविधानका असहमति मेटाउन गठन गरिएको उच्चस्तरीय कार्यदल नयाँ संविधानको प्रस्तावनामा सहमति जुटाउन विफल भएको छ।

उक्त प्रारम्भिक विफलतापछि कार्यदल अन्य विवादका बुँदा मिलाउन केन्द्रित हुने छ।

असहमतिका मुद्दाबारे एकिकृत नेकपा माओवादीका नेता देवप्रसाद गुरुङले भने, “प्रस्तावनामा जनयुद्धको भाव समेट्ने हाम्रो प्रस्तावमा अन्य दलको असहमति छ। वहुलवाद लेख्ने उहाँहरुको प्रस्तावना हामीलाई मान्य छैन्।”

संघीय लोकतान्त्रिक गणतन्त्रको अगाडि ‘जनताको’ भन्ने शब्द राख्ने माओवादीको प्रस्तावमा अन्य दल असहमत छन्।

थुप्रै सहमति

प्रमुख दलका शीर्ष नेताहरु प्रत्यक्ष संलग्न भएर नयाँ संविधानका मतभेद सुल्झाउन महिना दिनदेखि कम्मर कसेर लागेका छन्।

उनिहरु सम्मिलित कार्यदल प्रस्तावनामा सहमति जुटाउन विफल भय पनि फराकिलो विवाद निकै साँघुर्‍याउन सफल भएको नेताहरुको दावी छ।

नेकपा एमालेका प्रमुख सचेतक भीमप्रसाद आचार्य भन्छन्, “सिंगो प्रस्तावना पारित नभए पनि अधिकांश विवाद सल्टिए, अत्यन्तै थोरै विषय छलफल गर्न बाँकी छन्।”

प्रस्तावनाका सबै विवाद मिलाउन नसकेपछि कार्यदल बिहिवारदेखि मतभेदका अन्य मुद्दा मिलाउने प्रयासमा लाग्ने छ।

तर कार्यदलको थपिएको म्याद एक साता पनि नभएकाले ती विषयको छलफलको निम्ति पनि समय साँघुरो छ।

एमाले नेता आचार्यका अनुसार सर्वदलीय बैठकपछि कार्यदलको म्याद थपबारे निर्णय गरिने छ।

विश्लेषकहरुका विचारमा संख्यात्मक रुपमा असहमतिका थुप्रै बुँदा सुल्झाउन शीर्ष नेतृत्वको सकृयता सफल देखिए पनि थाँती नै राखिएका राज्यको पुनर्संरचना र शासकीय स्वरुप लगायत मतभेदका मुख्य मुद्दाहरु उनीहरुको निम्ति निकै जटिल सावित हुनेछन्।