पारसलाई तीन दिन थुनामा राख्ने अनुमती

  • 15 डिसेम्बर 2010
पारस शाह
Image caption शाह कम्तिमा बिहिवारसम्म प्रहरी थुनामै बस्नु पर्ने भएको छ

स्थानिय प्रशासनको केही सार्वजनिक अपराध सम्बन्धी मुद्दामा अनुसन्धान गर्न भूतपूर्व युवराज पारस शाहलाई बिहिवारसम्म थुनामा राख्न प्रहरीलाई अनुमति दिएको छ।

उक्त अनुमतिपछि शाह कम्तिमा बिहिवारसम्म चितवनस्थिति प्रहरीको तलीम केन्द्रमै बस्नु पर्ने भएको हो।

चितवनको एउटा होटलमा उपप्रधानमन्त्री सुजाता कोइरालाका ज्वाईं रुवेल चौधरीसँगको झगडापछि बन्दूक पडकाएको अभियोगमा उनलाई प्रहरीले गिरफ्तार गरेको थियो।

शाहलाई मंगलवार पोखरामा पक्राउ गरी हेलिकोप्टरबाट चितवन लगिएको हो। म्याद चितवनका प्रमुख जिल्ला अधिकारी बसन्तराज गौतमका अनुसार मंसीर २५ गते टाइगर टप्समा भएको घट्नालाई लिएर प्रहरीले केही सार्वजनिक अपराध ऐन अन्तर्गत मुद्दा चलाउनका निम्ति उनलाई शुक्रवारसम्म थुनामा राख्ने अनुमति मागेको थियो।

उनले भने, “काठमाण्डू महाराजगञ्ज निवासी वर्ष ३९ का पारस शाहलाई थुनामा रखेर अनुसन्धान गर्न मंगलवारदेखि लागु हुने गरी तीनदिनको म्याद दिइएको छ।”

प्रहरीले शाहलाई जिल्ला प्रशासन उपस्थीत गराउँछ कि भनेर पत्रकार र शाहका शुभेच्छुकहरु प्रहरी तालीम केन्द्र अगाडी जम्मा भएका थिए।

तर शाहलाई जिल्ला प्रशासन कार्यलयमा नलगी प्रहरीको कागज पत्रको आधारमा प्रमुख जिल्ला अधिकारीले म्याद थप गरेका हुन्।

म्याद थप गरिएको अवधिभरी शाह प्रहरी निगरानीमा नै बस्नु पर्ने प्रजिअ गौतमले बताए।

सरकारद्वारा गठित उच्चस्तरीय छानवीन टोलीले टाईगर टप्स होटल गई घटनाबारे जानकारी लिएको छ।

नारावाजी

शाहलाई गिरफ्तार गरेको विरोधमा उनका समर्थक र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले विहान चितवनको यातायात अवरुद्ध गरेपनि प्रहरीले हस्तक्षेप गरी खुलाएको थियो।

शाहको गिरफ्तारीलाई राजनीतिक प्रतिशोध ठान्ने उनका समर्थकहरुले चितवनमा जस्तै काठमाण्डू लगायत देशका विभिन्न ठाउँमा विरोध प्रदर्शन गरेका थिए।

कतिपयले घट्नासँग जोडिएका बंगलादेशी नागरिक रुवेल चौधरीलाई पनि अनुसन्धान र कारवाहीको दायरामा ल्याउनु पर्ने माग गरेका छन्।

प्रहरीले चौधरीसँग पनि उनकी सासु उपप्रधानमन्त्री सुजाता कोइरालाको काठमाण्डू मण्डिखाटारस्थिति निवास गई सोधपुछ गरेको थियो।

तर केही घण्टापछि कोइराला निवासबाट निस्केका प्रहरी अधिकृतले कुराकानीबारे विस्तृत जानकारी दिन चाहेनन्।