माओवादीद्वारा प्रम चुनावको नयाँ प्रक्रिया थाल्न प्रस्ताव

  • 17 डिसेम्बर 2010
माओवादी नेताहरु
Image caption प्रधानमन्त्रीको चयन गर्ने नयाँ प्रक्रियाको प्रस्ताव माओवादीले संसदमा दर्ता गरेको छ

आफैंले राष्ट्रपतिलाई समावेदन गरेर डाकेको अधिवेशनमा विगतमा बारम्बार विफल भएको प्रधानमन्त्रीय चुनावको प्रक्रियाको साटो नयाँ प्रक्रिया थाल्ने प्रस्ताव माओवादीले शुक्रबार दर्ता गराएको छ।

समावेदन गरेर डाकेको अधिवेशन फिर्ता लिन लगाउने सत्ताधारी नेकपा एमालेले निर्णय गरेको भोलिपल्ट केही अन्य साना दलहरुसहित, माओवादीले उक्त अधिवेशनको एजेण्डाको रुपमा सो प्रस्ताव दर्ता गराएको छ।

प्रधानमन्त्रीका एकमात्र बाँकी उम्मेदवार रामचन्द्र पौडेललाई नाम फिर्ता लिन लगाउने विषयमा एकै स्वर मिलाएका माओवादी र एमालेबीच समावेदनबाट डाकिएको अधिवेशन फिर्ता गराउने विषयमा स्वर बाझिएको छ।

दर्ता

सरकारलाई नियमित अधिवेशन नै डाक्न लगाउनुपर्ने निर्णय गरेको एमालेले माओवादीलाई उसले डाकेको अधिवेशन फिर्ता गर्न आव्हान गरेको थियो।

तर फिर्ता लिनुको साटो माओवादीले उक्त अधिवेशनको निम्ति प्रस्ताव दर्ता गराएको छ।

“नयाँ प्रधानमन्त्री चयनको लागि राष्ट्रिय सहमतिलाई प्राथमिकता दिंदै संसदको कार्य सञ्चालन नियमावलीको नियम ७ बमोजिम प्रधानमन्त्री निर्वाचनको नयाँ प्रक्रिया थालनी गरियोस् भनेर प्रस्ताव दर्ता भएको छ,” संसद सचिवालयका प्रवक्ता मुकुन्द शर्माले भने।

सो प्रस्तावका अतिरिक्त माओवादीले प्रधानमन्त्रीय चुनावी प्रक्रिया परिमार्जन गर्न नियम संशोधनको निम्ति सभामुखलाई सूचना दिएको छ।

बारम्बार विफल हुन नदिने किसिमको नियमको उसले वकालत गरेको छ।

फैसला

सोह्र पटक विफल भइसकेको प्रधानमन्त्री चुनावको प्रक्रियाबारे शुक्रबारनै सर्वोच्च अदालतले एउटा फैसला गरेको छ।

अदालतको पूर्ण इजलासले प्रधानमन्त्रीको चुनावमा कसैलेपनि तटस्थ बसेर परिणामविहिन बनाउन नहुने फैसला दिएको हो।

“प्रधानमन्त्री निर्वाचनको प्रयोजनको लागि तटस्थ बस्ने नीति संविधानको धारा ३८ विपरीत भएको हुनाले त्यस्तो व्यवस्था बदर गर्ने फैसला भएको छ,” सर्वोच्चका सहायक प्रवक्ता हेमन्त रावलले बताए।

एमालेले अबदेखि प्रधानमन्त्रीको चुनावमा तटस्थ नबस्ने भनेर बिहिबारनै निर्णय गरिसकेको हुनाले सर्वोच्च अदालतको सो फैसलाले तत्कालै ठूलो महत्व नराख्ने कतिपय विश्लेषकहरुले ठानेका छन्।