कांग्रेस-एमाले संसदमा माओवादी विरुद्ध एकसाथ उभिने

  • 22 डिसेम्बर 2010
व्यवस्थापिका संसद
Image caption प्रतिपक्षि माओवादीले डाकेको संसद अधिवेशन विहिवारदेखि शुरु हुँदैछ

एकिकृत नेकपा माओवादीले डाकेको संसद अधिवेशन विफल बनाउन नेपाली कांग्रेस र नेकपा एमालेले एकसाथ उभिने निर्णय गरेका छन्।

अधिवेशन शुरु हुनु अघिल्लो दिन बुधवार भएको दुई दलका शीर्ष नेतृत्वबीचको बैठकले त्यस्तो सहमति गरेको हो।

अघिल्लो दिन एकिकृत नेकपा माओवादीसँग अलग-अलग छलफल गरेका कांग्रेस र एमालेको नेतृत्व एउटै टेवुलमा बसेका थिए।

आग्रह

सहमतिबारे एमाले उपाध्यक्ष अशोक राईले भने, “संसदमा पेश गरेको प्रस्ताव फिर्ता लिन माओवादीलाई र नियमित अधिवेशन बोलाउन सरकारलाई आग्रह गर्ने निर्णय गर्‍यौं।”

कांग्रेस नेता अर्जुन नरसिंह केसीका अनुसार माओवादीले आग्रह नमानेमा प्रस्ताव विफल बनाउन विपक्षमा मतदान गर्ने सहमति भएको छ।

अन्मिनको म्याद बढाउने माओवादी प्रस्तावबारे पनि बैठकमा छलफल भएको थियो।

तर पछिल्लो पटक माओवादीकै सहमतिमा ‘अन्तिम पटक’ भनेर म्याद बढाइएकाले अन्मिनको वैकल्पिक संरचना तयार गर्न ध्यान केन्द्रित गर्नेमा उनीहरु एकमत देखिए।

मतभेद बाँकी

प्रधानमन्त्रीको चुनावबारेको आपसी मतभिन्नता हटाउने प्रयासमा भने दुई दललाई सफलता हात लागेन्।

प्रधानमन्त्रीको उम्मेदवारी फिर्ता लिन कांग्रेसलाई आग्रह गर्दै एमालेले अन्यथा विपक्षमा मतदान गर्ने पार्टी निर्णय सुनाएको थियो।

तर पनि उम्मेदवारी फिर्ता नलिने अडान नत्यागेको कांग्रेसका नेता केसीले भने, “संसद अधिवेशन सकिएपछि अन्य राजनीतिक मतभेद सुल्झाउन थप प्रयास गर्नेछौं।”

एमाले र कांग्रेसका नेताहरुका अनुसार, उपस्थित हुन नसक्ने माओवादीको जनाउपछि बुधवारको निम्ति निर्धारित तीन दलीय बैठक भएन्।

दुई दलको निर्णयबारे माओवादीको प्रतिकृया लिन खोज्दा आन्तरिक छलफलमै व्यस्त अध्यक्ष प्रचण्ड निकटका वरिष्ठ नेताहरु उपलब्ध भएनन्।

अर्का नेता डा.बाबुराम भट्टराई पनि आफ्नै निवासमा निकटस्थहरुसँगको अलग्गै छलफलमा व्यस्त थिए।