सत्ताधारी दलहरुको सुझावप्रति माओवादी आक्रोशित

  • 26 डिसेम्बर 2010
माओवादी मुख्यालय
Image caption गठबन्धनको सुझावपछि सरकारले अधिवेशन नबोलाउने शंका माओवादीले गरेको छ

नयाँ प्रधानमन्त्री को बन्ने भन्ने सहमतिपछिमात्रै संसदको नियमित अधिवेशन बोलाउनु ठिक हुने सत्ताधारी गठबन्धनको सुझावलाई विपक्षी माओवादीले कामचलाउ सरकारको आयु लम्ब्याउने बेइमानीको संज्ञा दिएको छ।

दस्तावेजमा नलेखिएपनि भित्रि रुपमा सरकारले पाँच दिनभित्र अधिवेशन बोलाउन सिफारिस गर्ने सहमति भएको माओवादीको भनाई छ।

थरीथरी व्याख्या

सहमति गर्ने अनि मसी नसुक्दै त्यसको व्याख्या आफु अनुकुल गर्ने परिपाटिको निरन्तरताको रुपमा सत्ताधारी दल एवं विपक्षी बीचको पछिल्लो विवाद अगाडि आएको छ।

विहिबार भएको सहमतिमा सरकारले अविलम्ब नियमित अधिवेशन बोलाउन सिफारिस गर्ने उल्लेख छ।

उक्त शब्द अविलम्बको व्याख्या फरक फरक हुन थालेकै प्रसंगमा शनिबार सत्ताधारी गठबन्धनले पहिले प्रधानमन्त्रीको टुंगो लगाए बेस हुने सुझाव दिएको थियो।

उक्त सुझाव सुन्नेवित्तिकै चिढिएको विपक्षी माओवादीले आइतबार बिहानै स्थायी समितिको बैठक डाकेर सो सल्लाहले सहमतिको प्रक्रिया अलपत्र पार्ने निश्कर्ष निकाल्यो।

“सरकारको आयु लम्ब्याउने यो बेइमानी हो। यसले सहमतिको प्रक्रिया झन् भाँड्छ। सरकारमा रहेका दलहरुले नै यस्तो सुझाव दिएपछि सरकारले अधिवेशन नबोलाउने हो कि भन्ने आशंका बढेको छ,” प्रवक्ता दिनानाथ शर्माले बताए।

आफ्ना ती आशंका तीन दलका शीर्ष नेताहरुको बैठकमा आइतबारै प्रस्तुत गर्ने माओवादी चाहना पूरा हुन पाएन।

एमालेका एकजना सभासदको सवारी दुर्घटनामा परी निधन भएको कारणले सो बैठक आइतबार बसेन।

‘भद्र सहमति’ उल्लंघन

सत्तारुढ दलहरुले दिएको सुझावले विहिबार तीन ठूला दलका शीर्ष नेताबीच भएको सम्झौता पछाडि भएको भनिएको भद्र सहमति उल्लंघन हुने डर माओवादीलाई छ।

“प्रमुख दलहरुले अधिवेशन बोलाउन हामीसित लिखित सहमति गरेका छन्। आन्तरीक सहमति अनुसार चाहीं उनीहरुले पाँच दिनभित्र अधिवेशन डाक्ने बताएका थिए। तर शनिबारको सत्तारुढ दलहरुको बैठकले उक्त सहमतिमाथि तुषारापात गरेको छ,” शर्माको भनाई थियो।

गत जेठमा अन्तिम समयमा संविधानसभाको म्याद थप्न गरिएको सहमतिमा पनि सरकारले राजीनामा गर्ने समयबारे त्यस्तै विवाद भएको थियो।

पहिले द्विअर्थी शब्द राखेर सम्झौता गर्ने अनि पछि एक अर्काको उछित्तो काढ्ने प्रवृत्ति अन्त नभएसम्म यो समस्या समाधान नहुने विश्लेषकहरुको भनाई छ।

सम्बन्धित समाचार